काठमाडौँ । बागमती प्रदेशमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तन गर्ने तयारी सुरु गरेका छन् । सत्तारुढ गठबन्धनको सहमतिमा मुख्यमन्त्री बनेका नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्री परिवर्तनका लागि दबाव दिन बिहीबार सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् ।
बागमती प्रदेशमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच आलोपालो सरकार चलाउने सहमति भएको तर मुख्यमन्त्री पाण्डेले सहमति अनुसार राजीनामा गर्नुपर्नेमा आलटाल गरेकाले दबाव दिन हस्ताक्षर संकलन थालिएको सांसद सीता अधिकारीले बताइन् ।

























