ऐतिहासिक सम्पदाको धनी पनौती नगरमा धार्मिक र साहसिक खेल–पर्यटनलाई उच्च प्राथमिकतामा राखिएको छ । पर्यटनका रणनीतिक योजना तथा पूर्वाधार निर्माण गर्न आर्थिक वर्ष २०७९-८० मा आवश्यक बजेट विनियोजन गरिएको छ ।
ऐतिहासिक एवं पुरातात्विक पनौती बजार, इन्द्रेश्वर मन्दिर तथा त्रिवेणी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्न थप पूर्वाधार निर्माण गरिने भएको छ । नगरका सबै धार्मिक तथा पर्यटकीय क्षेत्रको सहज भ्रमण गर्न आवश्यक पूर्वाधार तथा सुविधा उपलब्ध गराइने नगरप्रमुख रामशरण भण्डारीले बताए। यस वर्ष हाइकिङ ट्रेलको विकास, विस्तार तथा प्रचार गरिनेछ । साहसिक खेलजन्य गतिविधिको प्रवद्र्धनार्थ प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, साइक्लिङजस्ता इभेन्ट सञ्चालन गर्ने उनको योजना छ ।
होमस्टे प्रवद्र्धन तथा नियमन गर्ने व्यवस्थालाई थप प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । पर्यटन विकाससम्बन्धी गुरुयोजना तर्जुमा गरिनेछ । नगरले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न आवश्यक कार्ययोजना बनाई लाकुरी भञ्ज्याङ–पनौती–बल्थली साइक्लिङ मार्गको प्रचारप्रसारसमेत गर्ने भएको छ । आन्तरिक एवं बाह्य पर्यटनको प्रवद्र्धनार्थ पनौती–११ लड्कु खोलाको विभिन्न स्थानमा साना–ठूला बाँध निर्माण गरी सफा पानीमा पौडी खेल्ने व्यवस्था मिलाइने छ ।
नगरले आन्तरिक र बाह्य पर्यटकलाई आवश्यक सूचना प्रवाहमा थप सहजताका लागि पर्यटन सूचना केन्द्र स्थापना गर्ने भएको छ । पर्यटन गन्तव्यबारे प्रकाशन, प्रशारण गरिने छ भने पर्यटकको बसाई लम्ब्याउन विभिन्न हाइकिङ पथको पहिचान र विकास गरिने नगरको कार्यक्रममा उल्लेख छ । “पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउन पर्यटनमैत्री शौचालयको व्यवस्था गर्न लागेका छौँ”, भण्डारीले भने ।
होटल व्यवसायीबीच समन्वय गरी ‘सोभिनियर सेन्टर’को विकास गर्ने नगरको योजना छ । स्थानीय मौलिक संस्कृतिको जगेर्ना गर्दै त्यस्ता सांस्कृतिक सम्पदा र गतिविधिलाई पर्यटनसँग जोडि आवश्यक कार्य गर्ने तथा व्यवस्थित बनभोजस्थल निर्माण गरी पर्यटकलाई आकर्षण गर्ने नगरले कार्यक्रम बनाएको छ ।
नगरले यसअघि गत वर्ष चैतमा पर्यटन प्रवद्र्धनार्थ पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल साइक्लिङको सुरुआत गरेको थियो । नगरको १ नम्बर वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नम्बर वडाको नागीडाँडासम्म ६ किलोमिटर साइक्लिङ टे«लरुट तय गरिएको छ । नगरको आयोजनामा ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा नेपाल, क्यानडा र भारतका करिब २०० राइडरले साइक्लिङ गरेका थिए ।
यसैगरि पनौती धार्मिक, ऐतिहासिक, सांस्कृतिकसँगै ‘एग्रो टुरीजम्, एड्भेन्चर टुरीजम’ कार्यक्रम अघि सारिएको छ । नेपाल पर्यटन बोर्डले गत वर्ष असोजमा पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधि प्रचारमा ल्याएको थियो । यसका लागि बोर्डले पनौती नगरभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीयस्थललाई मान्यता दिँदै प्रचार सामग्रीसमेत सार्वजनिक गरेको छ ।
पनौती नगर क्षेत्रका मनोरम पहाड, खेत, हिम–शृङ्खलाको दृष्यावलोकनले आन्तरिक एवं बाह्य पर्यटकलाई आनन्दित तुल्याउनेछ । साहसिक पर्यटनका लागि पनौती उपयुक्त स्थान रहेको उल्लेख गर्दै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक–क्लाइमिङजस्ता खेल गर्न सकिने बोर्डले जनाएको छ ।
बोर्डले पनौतीको ऐतिहासिक एवं पर्यटकीयस्थललाई प्राथमिकीकरण गरी प्रचारमा ल्याएको थियो । बोर्डका अनुसार पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल (लो–ल्याण्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृष्यावलोकन), योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्नुपर्ने उल्लेख छ ।
नगरले धार्मिक पर्यटन तथा खेल–पर्यटनको विकासलगयात योजना कार्यान्वयन गर्न आगामी आवका लागि रु एक अर्ब ६० करोड १३ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । सुशासन र संस्थागत विकास, वन तथा वातावरण, सूचना तथा सञ्चार भाषा, साहित्य, कला र संस्कृति, पूर्वाधार निर्माण, युवा तथा खेलकुद, बालमैत्री स्थानीय शासन र विशेष सामाजिक सुरक्षा, पर्व र कला, महिला, दलित र अपाङ्गता, शिक्षा, स्वास्थ्य, सहकारी, प्रधानमन्त्री रोजगार कार्यक्रम, कृषि तथा पशुपन्छी विषय नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
पनौती बजारक्षेत्र विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने योजना छ । पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन, २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्व सम्पदा क्षेत्र’ भनिनेछ ।
विश्व सम्पदा सूचीमा सूचीकृत गरिएकामा काठमाडौँ उपत्यका (उपत्यकाका काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज छन् । (रासस)