काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले वर्तमान सरकार सुकुम्बासी, गरिब तथा निमुखा वर्गको हितविपरीत रहेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार योजनाबद्ध षड्यन्त्रको परिणामस्वरूप गठन भएको दाबी गरे । उनले २०८२ साल भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई समेत योजनाबद्ध घटनाको परिणाम भएको उल्लेख गर्दै कम्युनिष्ट शक्तिहरूलाई पुनः संघर्षका लागि तयार हुन आह्वान गरे ।
नेता पाण्डेले उक्त घटनाक्रमका क्रममा सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, प्रहरी कार्यालय तथा विभिन्न राजनीतिक नेताहरूका घरमा आगजनी भएको उल्लेख गर्दै त्यसपछि निर्वाचित संसद् विघटन गरिएको आरोप लगाए । उनका अनुसार संसद् विघटन गरेर कुनै स्पष्ट सिद्धान्त, विचार, कार्यक्रम र लक्ष्य नभएको शक्तिलाई सत्तामा पु-याउने काम गरिएको हो।
उहाँले लामो राजनीतिक संघर्ष, जनआन्दोलन तथा परिवर्तनका आन्दोलनबाट प्राप्त उपलब्धिहरूको संरक्षण गर्न नसकिएको भन्दै चिन्ता व्यक्त गरे । पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनदेखि राजतन्त्रको अन्त्यसम्मको संघर्षमा योगदान नदिएका शक्तिहरू अहिले राज्य सञ्चालनको नेतृत्वमा पुगेको उनको भनाइ थियो।
उनले वर्तमान नेतृत्वलाई लोकतान्त्रिक आन्दोलन, जनआन्दोलन, जनयुद्ध तथा राजनीतिक संघर्षका अनुभव र मूल्यबोधको अभाव रहेको टिप्पणी गरे । त्यसैले कम्युनिष्ट आन्दोलनमा आबद्ध कार्यकर्ताहरूलाई पुनः संगठित भएर पार्टी निर्माणमा जुट्न उनले आग्रह गरे ।
नेता पाण्डेले पार्टी एकता शीर्ष नेतृत्व तहमा भए पनि तल्लो तहका कार्यकर्ताबीच अझै प्रभावकारी रूपमा हुन नसकेको दाबी गरे । उनले पूर्वमाओवादी र पूर्वएकीकृत समाजवादीको पहिचानभन्दा माथि उठेर एकीकृत पार्टीको भावनाअनुसार काम गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए।
उनले विगतका कमजोरीहरूको आत्मसमीक्षा गर्दै अझ बलियो, व्यवस्थित र जनमुखी पार्टी निर्माणका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।




















