काठमाडौं । सरकारले सातै प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वास्थ्य क्षेत्रको स्तरोन्नतिका लागि यस्तो योजना अघि सारिएको जानकारी दिए ।
उनका अनुसार प्रदेशस्तरका सरकारी अस्पताललाई आधुनिक स्वास्थ्य सेवा र मेडिकल शिक्षासँग जोड्दै विशिष्टीकृत केन्द्रमा रूपान्तरण गरिनेछ ।
यस्तै, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानीयोग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा तथा विशिष्टीकृत स्वास्थ्य सेवामा परिचालन गरिने सरकारको योजना छ ।
अर्थमन्त्री वाग्लेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयका रूपमा विकास गरिने पनि बताए ।
उनका अनुसार ती संस्थालाई विदेशी विद्यार्थीलाई समेत अध्ययन गराउन सक्षम बनाइनेछ । सरकारले यस कदमबाट नेपाललाई क्षेत्रीय मेडिकल शिक्षा तथा स्वास्थ्य सेवाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ ।

















