काठमाडौँ । सरकारले विभिन्न ३१ सरकारी निकाय खारेज गर्ने घोषणा गरेको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी संरचना पुनःसंरचनाअन्तर्गत यस्तो निर्णय गरिएको जानकारी दिएका हुन् ।
उनका अनुसार ३१ निकाय खारेज गरिने, ६ निकाय मर्ज गरिने, ६ निकाय अन्यत्र हस्तान्तरण गरिने तथा १८ निकायको पुनःसंरचना गरिनेछ ।
अर्थमन्त्री वाग्लेले कर्मचारी प्रशासनलाई थप प्रभावकारी, उत्तरदायी र कार्यसम्पादनमुखी बनाउन कर्मचारी तथा सुरक्षा निकायका सेवासुविधामा क्रमिक सुधार गरिने बताए ।
उनले कर्मचारीतन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम बनाउने तथा उच्चस्तरीय कार्यसम्पादनमा प्रोत्साहन गर्ने नीति लिइएको उल्लेख गरे ।
यस्तै, सरकारले साधारण खर्चमा मितव्ययिता कायम गर्दै सार्वजनिक खर्चलाई थप व्यवस्थित बनाइने जनाएको छ ।



















