काठमाडौं । रोहिंग्या शरणार्थीहरुले काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अगाडि विरोध प्रदर्शन गरेका छन् । उनीहरुले संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले विश्वव्यापी घोषणापत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक र बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्नेलगायतका माग राखेका छन् । म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, नाइजेरिया लगायतका देशबाट नेपालमा शरणार्थीको रुपमा आएका उनीहरुले यूएनएचसीआरले चासो नदिएको जनाएका छन् ।
उनीहरुले यूएनएचसीआरले आर्थिक तथा सामाजिक गतिविधिहरुमा चासो नदिँदा मानव अधिकारको हनन भएको गुनासो गरे । प्रदर्शनकारीहरुले सोमवार प्रहरी प्रशासनबाट महिला, बालबालिकाहरु कसैको पर्वाह नगरी लाठीचार्ज गरेर निर्दयको भाव देखाएको बताए ।
प्रदर्शनमा उत्रिएकाहरुले २०१५ सम्म सहयोग गरे पनि यूएनएचसीआरले पछिल्लो समय बेवास्ता गरेको बताएका छन् । उनीहरुले बालबालिकाहरुलाई निजी विद्यालयमा पढ्नबाट वञ्चित गरेको र बस्न पनि समस्या रहेकोले यो समस्य समाधान गर्न आफूहरु प्रदर्शनमा आउनुपरेको बताए ।
यूएनएचसीआरले खान, बस्न र बालबालिकाको अध्ययनका लागि आर्थिक सहयोग गर्दै आइरहे पनि पछिल्लो समय सरकारी विद्यालयमा बालबालिकालाई पढाउनुपर्ने र आफूलाई दिइने रकम पनि दिन छोडेको गुनासो उनीहरुले गरेका छन् । रोहिंग्या शरणार्थीहरुले बालबालिकाहरुको अधिकार हनन गरिरहेको भन्दै सोमबारबाट विरोध प्रदर्शन गरिरहेका छन् । मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारलाई यूएनएचसीआरले नियमतः पालना नगर्दा आफ्ना बालबालिकाहरुको अधिकार हनन गरेको गुनासो उनीहरुले गरे ।

























