काठमाडौं । बिनासकारी भूकम्पबाट पूर्णरुपमा क्षति भएको भवन पुनर्निर्माण हुनुपर्ने भन्दै काठमाडौंको घण्टाघरस्थति त्रिचन्द्र क्याम्पसका बिद्यार्थीहरुले सडकमै पढेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
भूकम्पबाट क्षति भएको लामो समय हुँदा पनि पुनर्निर्माणमा चासो नदेखाएको भन्दै बिद्यार्थीहरुले सडकमै बसेर पढेर ध्यानाकर्षण गराएका हुन् । उनीहरुले भवन पुनर्निर्माण गर, हामी पढ्न चाहन्छौ, भ्युटावर चाहि बन्ने त्रिचन्द नबन्ने, इतिहास ढल्दैछ सरकार मौन छ, शिक्षा मन्त्रालय हराएको सूचना लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
नेपालको इतिहासकै रुपमा रहेको त्रिचन्द्र क्याम्पसको पुननिर्माणमा सरकारको ध्यान नगएको भन्दै प्रदर्शन गर्नुपरेको बिद्याथीहरुको भनाई छ । एक सय चार वर्षको इतिहास बोकेको त्रिचन्द्र कलेजको अवस्था दयनीय बनेपछि विद्यार्थीहरु क्याम्पस बचाउ अभियानमा लागेका हुन् ।
२०७२ को भूकम्पले भत्काएको त्रिचन्द्र कलेजको पुरानो भवन पुनर्निर्माण नहुँदा थप जीर्ण बन्दै गएको छ । त्रिचन्द्र कलेजको घन्टाघरतर्फको भवन १९७५ सालमै बनेको थियो ।
























