काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले समाजका संस्थापक सभापति कृष्ण पहाडीको कविता संग्रह “जलमा हलचल सूक्ष्मको” प्रकाशित गरेको छ । संस्थापक सभापति पहाडीको परिकल्पना अनुसार जगत्मुखी जीवनमुखी र सेवामुखी उद्देश्यले स्वयंसेवी तवरमा मानव अधिकार तथा शान्ति समाज क्रियाशील छ भने पहाडीका कविताहरु पनि जगत्मुखी जीवनमुखी सेवामुखी चेतले निर्दिष्ट छन् ।
संस्थापक सभापति पहाडीको यो ३० औँ पुस्तक हो । ६२ वटा कविता रहेको यस संग्रहमा समाविष्ट कुनै कविता ब्रम्हाण्डको बारेमा त कुनै अन्तरिक्ष कुनै तारा र ग्रहहरुको बारेमा छन् । कुनै कविता मृत्युकालिन अवस्थाको बारेमा छ, कुनैमा मृत्युपश्चातको कल्पनातित अनुभुति चित्रित छ । कहीँ अनन्तको बारेमा त कहीँ अन्त्यको बारेमा केन्द्रीत कविता पनि छन् । अधिकांश कविता जीव, जगत र प्रकृतिको अन्तरसम्बन्धबारे छन् । कुनै कविताहरु विज्ञानका बारेमा छन्, कुनै गहिरो ज्ञानका बारेमा छन् । समग्रमा भन्नुपर्दा संस्थापक सभापति पहाडीद्वारा लिखित यो कविता संग्रह पृथक छ । सायद त्यसैले स्रष्टा पहाडीले यो कृतिलाई दोस्रो पारीको पहिलो पुस्तक बताउनुभएको छ ।
शान्ति समाजका दुई जना सदस्य-शुभचिन्तकको सहयोगमा प्रकाशित यो पुस्तकको मुल्य रु. २०० रहेको छ भने पुस्तक विक्रिबाट हुने सम्पूर्ण आम्दानी मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय भवन खरिद-निर्माणमा लगाइनेछ ।