काठमाडौं । चलचित्र ‘सर्वजित’ निर्माण गर्न पर्यटनमन्त्री प्रेम आलेले आर्थिक सहयोग गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटार आयोजित चलचित्रको शुभ मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरे ।
दलित महिला केन्द्रले निर्माण गर्न लागेको चलचित्रलाई दिनेश डिसीले निर्देशन गर्ने भएका छन् । चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनी बन्ने भएको छ ।
चलचित्रको शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले शुभ मुहूर्त गरेका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो ।
चलचित्र निर्माण गर्न एक करोड २५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।