बुटवल । जाडो छल्न आगो तापेर बसिरहेका बेला नदी किनारको ढिस्को खसेर बुटवलमा दुईजनाको ज्यान गएको छ ।
बुटवलको देवीनगरस्थित तिनाउ किनारमा बुधबार साँझ ढिस्कोले पुरिँदा दुईजनाको ज्यान गएको हो । मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका छन् । त्यस्तै, घटनामा परी तीनजना घाइते भएका छन् । ढिस्को खसेर पाँचजना पुरिएकोमा दुईजनाको अस्पताल पु-याएपछि मृत्यु भएको हो ।
उनीहरु तिनाउ नदी किनारमा आगो तापेर बसिरहेका थिए । घटनामा परी घाइते हुनेहरुमा केशव पुरी, अशोक गाहा र अन्य एकजना रहेको प्रहरीले जनाएको छ ।
ढिस्कोले पुरिएकाहरुलाई घटनालगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएका थिए । स्थानीय देबीनगरको प्रगतिनगर टोलका पाँच जना तिनाउ किनारको कुना च्याप्दै आगो तापेर बसिरहेको अवस्थामा ढिस्को उनीहरुमाथि खसेको थियो ।




















