काठमाडौं । काठमाडौँ उपत्यका कोरोना भाइरसको हटस्पट बन्दै गएको छ । उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २६ सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट उपत्यकामा २ हजार ६०७ जना कोरोनाका बिरामी थपिएका हुन् ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै ५१.६१ प्रतिशत संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा काठमाडौँमा १९१३, भक्तपुरमा ३१७, ललितपुरमा ३७७ जना नयाँ संक्रमित भएका छन् ।
योसँगै काठमाडौं जिल्लामा मात्र अहिलेसम्म दुई लाख ६३ हजार ९७२ जनामा कोरोनाका बिरामी भएका छन् । जसमा दुई लाख ५४ हजार १०४ जना संक्रमणमुक्त भएका छन् । मृत्यु हुनेको संख्या २२ सय ४३ पुगेको छ। सक्रिय संक्रमित सात हजार ६२५ जना छन् ।
त्यसैगरी भक्तपुरमा अहिलेसम्म ३१ हजार ३११ जनामा कोरोना पुष्टि भएको छ । जसमा २९ हजार ६२२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । मृत्यु हुनेको संख्या ४३८ पुगेको छ भने सक्रिय संक्रमित १२ सय ५१ जना रहेका छन्।
त्यस्तै ललितपुरमा अहिलेसम्म ५३ हजार ३५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये ५० हजार ३८९ जना संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या ७११ छ भने एक हजार ९३५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।