काठमाडौं । ज्येष्ठ नागरिक योद्धा स्वर्गीय सीताराम ढकालको कृति लोकार्पण भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वमन्त्रीहरु शंकर कोइराला, टंक ढकाल, पूर्वराज्यमन्त्री पदम राईलगायतले शनिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा संयुक्त रुपमा बिमोचन गरेका हुन् ।
२३ साउन २००१ सालमा भोजपुरमा जन्मिएका समाजसेवी एवं ज्येष्ठ नागरिक योद्धा ढकालको प्रथम वार्षिक पुण्यतिथिमा प्रकाशित कृति (स्मृति ग्रन्थ)मा उनको जीवनी, व्यक्तित्व र योगदानका विविध आयाम प्रस्तुत गर्ने लेखरचना तथा अन्य सामग्रीको संयोजन गरिएको छ ।
साथै उनको सक्रिय जीवनशैली, समाज सेवाका क्षेत्रमा गरेको उदाहरणीय कार्यहरु, ज्येष्ठ नागरिक योद्धाका रुपमा दिएका अविस्मरणीय योगदानहरुलाई उल्लेख गरिएको छ । यो कृति सीताराम-पदमकुमारी फाउण्डेसनले प्रकाशन गरेको हो । ढकालको कोटेश्वर क्षेत्रको विकासमा पनि उल्लेखनीय योगदान छ ।
कृतिमाथि प्राडा गोविन्दमानसिंह कार्की र डा शैलेन्द्र प्रकाश नेपालले टिप्पणी गरेका थिए । कार्कीले भने, ‘उहाँको जीवनको पछिल्ला पाटामा मात्रै कृति केन्द्रीत भएको छ । पूरा जीवनी यो पुस्तकले समेट्दैन । तर, व्यक्तित्व पहिल्याउने काम यसले गरेको छ । केही सच्याउन पर्ने पनि छ । आगामी कृतिमा त्यसलाई समेट्नुहोला ।’
अर्का टिप्पणीकर्ता नेपालले भने, ‘उनको जीवन अत्यन्त सार्थक भएको पाए । आत्मदाहका लागि सरकारलाई चुनौती दिएकोसम्म उहाँको योगदान छ । पुस्तक एउटा इतिहास हो । सत्यमोहन जोशीको शुभकामना सन्देशले ओज बढाउने काम गरेको छ । शिवप्रसाद ढकाल राष्ट्रको सम्पत्ति हो ।’
कलाकार मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकको शिक्षाका लागि श्रेष्ठ लडेको बताए । ‘ज्येष्ठ नागरिक सञ्जाल बनाउनुभयो । जिल्ला संघहरू गठन भए । यति गर्दा राष्ट्रले सेवा नदिएपछि सडक आन्दोलनमा उत्रिए । सम्मानजनक बाच्ने कानुन ज्येष्ठ नागरिकमैत्री नीति नियम प्राप्त भएको छ । अहिले सम्मानपूर्वक बाच्न पाउने अवस्था छ । यसमा सीताराम ढकालको योगदान छ ।’
कार्यक्रममा ९२ वर्षीय ज्येष्ठ नागरिक गोपाल प्रजापतिलाई सम्मान गरिएको छ ।
बुवाआमाको नाममा फाउण्डेसन
ज्येष्ठ नागरिक योद्धा ढकालको परिवारले बुवाआमाको सम्झनामा सीताराम-पदमकुमारी फाउण्डेसन स्थापना गरेको छ । ढकालको गत वर्ष (२० पुस ०७७) निधनपछि उनको योगदान र समाजसेवाका कामलाई निरन्तरता दिन परिवारले दुई महिनापछि ५ फागुनमा फाउण्डेसन स्थापना गर्यो । फाउण्डेसनले स्वर्गीय ढकालले जुन जुन क्षेत्रमा योगदान गरे तिनै क्षेत्रलाई केन्द्रीत गरेर काम गरिरहेको उपाध्यक्ष विन्दु अधिकारी ढकाल बताउँछिन् । उनकाअनुसार फाउण्डेसनले ज्येष्ठ नागरिकलाई पलाञ्चोक भगवती दर्शन गराउने, हकहित संरक्षणका लागि सक्रिय रहने, आर्थिक रुपमा विपन्न विद्यार्थी (अनुरोध कोइराला काठमाडौं स्कुल अफ ल-सृजन ढकाल सिटिजन कलेज) लाई छात्रवृत्ति, ढकालको जन्म स्थानमा वृक्षारोपण गरिएको छ । फाउण्डेसनले शनिबार ढकालका योगदान समेटिएका स्मृति ग्रन्थ प्रकाशन गरेको हो ।
ढकालका छोरा एवं नेपाल प्रहरीका एसएसपी भीमप्रसाद ढकालले बुवाले देखाएका मार्ग र सपनामा आफूहरु अघि बढेको बताए । बुवाले देखाएको बाटोअनुसार समाजसेवामा सक्रिय रहिरहने उनको भनाइ छ ।