काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजको २४ औँ राष्ट्रिय परिषद् बैठक (वार्षिक साधारणसभा) २०७८ माघ २१ र २२ गते शान्ति समाज कपिलवस्तु शाखाको आतिथेयमा जितपुर ४ नम्बरमा आयोजना हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षाः सबैको अधिकार भन्ने मूल आह्वानसहित सम्पन्न हुन गइरहेको राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि शान्ति समाज कपिलवस्तु शाखा सभापति गोविन्द पोख्रेलको संयोजकत्वमा मूल तयारी समिति र विभिन्न उपसमिति गठन भएको छ । राष्ट्रिय परिषद् समाजको सर्वोच्च नीति निर्णायक अंग हो ।
२०७८ पुस २२ गते सम्पन्न मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको बैठक (भर्चुअल) ले शान्ति समाजका चार जना केन्द्रीय सदस्यहरुले शान्ति समाज केन्द्रीय कार्यसमितिको सदस्य पदबाट राजिनामा दिएको सम्बन्धमा, उहाँहरुले शान्ति समाजमा गरेको योगदानप्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दै राजिनामा स्विकृत गरेको छ । दुर्गा राना (लक्ष्मी), निर्मला सुवेदी, गणेश पौडेल र सन्तोष रौनियारले शान्ति समाजको अभियानमा सदैव साथ र सहयोग रहने प्रतिवद्धतासहित हाल आफ्नो राजनीतिक सक्रियताको कारण (हालै सम्पन्न राजनीतिक दलको निर्वाचन प्रक्रियामा उम्मेदवारी ) जनाई राजिनामा दिनुभएको हो । शान्ति समाजको ३३ सदस्सीय केन्द्रीय कार्यसमितिमा अब २९ सदस्य रहनुभएको छ ।



















