Margadarsan


  • रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार भट्टराईलाई 

    मार्गदर्शन ४ मंसिर २०७८, शनिबार

    इलाम । प्रजातान्त्रिक योद्धा तथा समाजसेवी स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा स्थापना गरिएको ‘रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार २०७८’ इलामका पत्रकार विजयशेखर भट्टराईलाई प्रदान गरिएको छ ।

    दुलाल परिवारसँगको सहकार्यमा नेपाल प्रेस युनियन इलाम शाखाले स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा २० हजार रुपैयाँ राशिको पुरस्कार स्थापना गरेको थियो । शनिबार इलाममा एक समारोह आयोजना गरेर भट्टराईलाई २० हजार रुपैयाँ राशिको पुरस्कार प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रदान गर्नुभयो । करिब तीन दशकदेखि पत्रकारितामा क्रियाशील भट्टराई हाल नेपाल टेलिभिजनको संवाददाताको रूपमा कार्यरत हुनुहुन्छ । यसअघि उहाँ सन्दकपुर दैनिक, नेपालबाणी एफएम, राष्ट्रिय समाचार समितिलगायतका सञ्चारमाध्यममा कार्यरत हुनुहुन्थ्यो ।

    इलाम जिल्लामा प्रजातान्त्रिक विचारधारा स्थापित गराउन क्रियाशील रहेर दुलाल समाजसेवामा समेत कहलिएका व्यक्ति हुनुहुन्छ । समाजसेवामा अग्रसर रहेका दुलाललाई ‘जिल्ला बा’ को उपनामले समेत चिनिने गरेको उहाँलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

    समाज विकासमा दुलालले पुर्‍याएको योगदानलाई जीवन्त राख्नका लागि पत्रकारिता पुरस्कार स्थापना गरिएको प्रेस युनियनका केन्द्रीय सदस्य तथा उहाँका नाति माधवप्रसाद चम्लागाईंले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया