पाँचथर । मिक्लाजुङ गाउँपालिका–५ चिसापानी पञ्चमीका पदमशेर लावतीलाई पालाम (धान नाच्दा गाइने दोहोरी) को एउटा पङ्ती अहिले खुबै याद आउँछ ।
३ कात्तिकमा गएको पहिरोमा परी छोरा विष्णुबहादुरलाई गुमाएपछि लावतीको मन स्थिर नै छैन । उहाँ सम्झिनुहुन्छ–‘पच्चिस सालको पैरो, निङ्बा मैरो ।’ अर्थात् २०२५ सालमा गएको पहिरोले मन उडायो, विरक्त लगायो । दुई पक्षले सवाल–जवाफमा गाइने पालाममा २०२५ सालमा बेमौसमी वर्षाका कारण गएको पहिरोले गरेका क्षतिका विषयहरू समेटिएका छन् । लावतीका अनुसार पालाममा उक्त पहिरोले मनमात्रै उडाएको उल्लेख थियो । तर यसपालिको पहिरोले भने जीवनको सहारा नै लग्यो ।
बेमौसमी वर्षाका कारण यत्रतत्र पहिरो जाँदा पाँचथरको मिक्लाजुङ गाउँपालिका क्षतविक्षत बनेको छ । १ देखि ३ कात्तिकसम्म निरन्तर परेको वर्षाले यहाँका सयौं स्थानमा पहिरो झरेको छ । यत्रतत्र पहिरो झर्नुका साथै खोला तथा खोल्सीहरूमा बाढी आएको छ । जसले ठूलो मानवीय तथा भौतिक क्षति पु-यायो । पहिरोका कारण मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ र ७ को स्वरुप नै फेरिएको छ । खेतीयोग्य जमिनहरू बगर बनेका छन् । सयौं घरमा क्षति पुगेको छ । भूकम्पले जस्तै पहिरोले जमिन थङ्थिलो हुँदा स्थानीयबासी अब कहाँ जाने भन्ने चिन्तामा डुबेका छन् । बाँकी ६ वटा वडामा पनि पहिरोले क्षति पु-याएको छ ।
मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमका अनुसार पहिरोबाट भौतिक संरचनामा भएको क्षतिको विवरण अझैसम्म यकिन हुन सकेको छैन । यहाँका हजारौं घर, गोठमा पूर्ण वा आंशिक क्षति पुगेको छ । स्थानीयबासीका खेतबारीमा लगाएको बाली त नष्ट भयो नै, ती ठाउँ भविष्यमा खेती लगाउन समेत नमिल्ने भएको छ । सडक, खानेपानी, विद्युत, सिंचाइ, विद्यालय, मठमन्दिरलगायत भौतिक संरचनामा पुगेको क्षतिको विवरण वडाहरूले तयार पार्न सकेका छैनन् । ‘सबै ठाउँमा ठूलो क्षति पुगेको छ । बाटाहरू बन्द छन्, विद्युत अवरुद्ध छ,’ गाउँपालिका अध्यक्ष माखिमले भन्नुभयो, ‘के–कति क्षति भयो भन्ने लगत सङ्कलन गर्न वडाहरूलाई भनेका छौँ । तर उहाँहरुले समेत तत्कालै पूर्ण विवरण तयार पार्न सक्ने अवस्था छैन ।’ पहिरोले मिक्लाजुङ गाउँपालिकाभित्रका अधिकांश सडक क्षतविक्षत बनाएको छ । राँके–रवि–भेडेटार सडकको कन्याटार–कम्फ्युटार खण्डमा मात्रै सयौं साना–ठूला पहिरो झर्दा सडक खुलाउन हप्तौं लाग्ने अवस्था छ । विद्युतका पोल तथा तारहरू खोलामा पुगेका छन् । कतिपय सिंचाइ कुलोहरूको नामनिसान नै मेटिएको छ ।
मिक्लाजुङमा मात्रै २२ जनाले ज्यान गुमाए
बाढी र पहिरोका कारण मिक्लाजुङमा मात्रै २२ जनाको मृत्यु भएको थियो, तीनजना अझैसम्म फेला परेका छैनन् । बाढी र पहिरोले विस्थापित सयौं स्थानीयबासी छिमेकी तथा आफन्तकहाँ शरण लिएर बसेका छन् । घरबार नहुनेहरू पुनःस्थापनाको प्रतीक्षामा छन् भने घरबार जोखिमयुक्त बनेकाहरू अन्योलमा दिन काटिरहेका छन् । स्थानीय क्लबको सहयोगमा बसिरहेका मिक्लाजुङ–७ लेखगाउँका रविन राई भन्नुहुन्छ, ‘अहिलेसम्म गाउँपालिका अध्यक्षबाहेक कोही पनि हामीलाई भेट्न आउनुभएको छैन । खोई कहाँबाट सहयोग पाइएला र घर बनाउन सकिएला ?’
मिक्लाजुङ–५ का भकेन्द्र लावतीका अनुसार पहिरोका कारण गाउँको संरचनामै परिवर्तन आएको छ । भूकम्पले जस्तै खेतबारी क्षतविक्षत बनेको र पुनः खेती लगाउन सकिने अवस्था नरहेको लावतीको भनाइ छ । ‘हाम्रो वडाको ठूलो बस्तीलाई स्थानान्तरण गर्नु नै पहिरोबाट हुनसक्ने क्षतिको दीर्घकालीन समाधान हो,’ लावतीले भन्नुभयो ‘वर्षा भएमा जोखिम उत्तिकै छ ।’ आँगनसम्म पहिरो आए पनि डराएर आफ्नै ठाउँमा जीविका चलाउनुको विकल्प नभएको मिक्लाजुङ–१ अठभैयाकी सविना ठटालको भनाइ छ । ‘डर त लाग्छ । यहाँ पहिले पनि पहिरो आएको थियो रे । तर अन्यत्र जानसक्ने अवस्था छैन्’, ठटालले भन्नुभयो ।
प्रधानमन्त्रीको आश्वासन पूरा भएन
मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष माखिम बाढी र पहिराले अकल्पनीय क्षति भए पनि कतैबाट सहयोग पाउन नसकेकामा दुःखी छन् । ‘विद्युत, बाटो, खानेपानी सबै अवरुद्ध छ । धेरै संरचना पुनःनिर्माण अत्यावाश्यक भए पनि ठोस सहयोग पाउन सकेका छैनौं’, अध्यक्ष माखिमले भन्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले गत ७ कात्तिकमा यस क्षेत्रको निरीक्षण गरी पीडितलाई सहयोग गर्ने वचन दिनुभएको थियो । तर दुई सातासम्म सरकारी उपस्थितिविना जीवन गुजार्नुपर्दा पीडितहरु निराश छन् ।