काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ आक्रोशित बनेपछि उनकै पार्टीका सांसदहरूले उनलाई बैठक कक्षबाट बाहिर लगेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक रूपमा सांसदहरूको प्रश्नको जवाफ दिएर बैठकबाट बाहिरिएपछि विपक्षी दलका सांसदहरूले नियमापत्तिको विषय उठाउँदै विरोध जनाइरहेका थिए। सोही क्रममा सांसद तामाङले असन्तुष्टि व्यक्त गर्दै आक्रोशित प्रतिक्रिया जनाएकी थिइन्।

प्रत्यक्षदर्शीहरूका अनुसार उनी आफ्नो सिटबाट उठेर अगाडिको लहरतर्फ जान खोजेपछि रास्वपाकै सांसदहरूले उनलाई रोक्ने प्रयास गरेका थिए। सांसद रञ्जु दर्शना, ज्वाला संग्रौला र भूमिका श्रेष्ठलगायतले उनको हात समातेर शान्त गराउने प्रयास गरेका थिए।
तर तामाङको आक्रोश नघटेपछि सांसद रञ्जु दर्शना र ज्वाला संग्रौलाले उनलाई बैठक कक्ष बाहिर लगेका हुन्।
प्रधानमन्त्रीको जवाफ दिने प्रक्रिया र त्यसपछिको घटनाक्रमलाई लिएर संसद्मा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो। विपक्षी दलहरूले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग औपचारिक प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने माग गर्दै विरोध जारी राखेका छन्।


















