काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत तुल्सा कलेक्सनका नामले परिचित तुलसा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनी हाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा रहेकी छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार इन्टरपोलको समन्वयमा थाइल्याण्डमा पक्राउ परेकी अधिकारीलाई शनिबार राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।
‘राति करिब १ बजे विमानस्थलबाट जिम्मा लिएका हौँ। हाल उनलाई हिरासतमा राखिएको छ र अदालतमा पेस गर्ने तयारी भइरहेको छ,’ एसपी मिश्रले बताए। आज सार्वजनिक बिदा परेकाले उनलाई सोमबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराइने प्रहरीले जनाएको छ।
अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपमा ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ। साथै ठगीसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान गरिएको थियो।
प्रहरीका अनुसार गत साउनमा सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाले अधिकारीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए। अनुसन्धानका क्रममा उनको बैंक खातामा ठूलो रकमको कारोबार भएको विवरण फेला परेपछि सम्पत्ति शुद्धीकरणको कोणबाट समेत अनुसन्धान अघि बढाइएको थियो।
घटनापछि अधिकारी विदेश फरार भएकी थिइन्। उनी सामाजिक सञ्जालमा ‘तुल्सा’ नामबाट सक्रिय रहँदै आएको प्रहरीले जनाएको छ। फरार भएपछि उनीविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो।
प्रहरी अनुसन्धानअनुसार अधिकारी चीनमा बसेर पनि टिकटकमार्फत विभिन्न व्यक्तिलाई ब्ल्याकमेलिङ तथा आर्थिक लाभ लिने गतिविधिमा संलग्न रहेको आशंका गरिएको छ। त्यसपछि अन्तर्राष्ट्रिय समन्वयमार्फत उनको खोजी तीव्र पारिएको थियो।
प्रहरीले उनीविरुद्ध आपराधिक लाभ, ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पठाइसकेको जनाएको छ। अब अदालतको प्रक्रिया अनुसार थप कानुनी कारबाही अघि बढाइनेछ।




















