काठमाडौं । विपक्षी दलहरूको निरन्तर दबाबपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा बैठकमा उपस्थित भई जवाफ दिन रोष्ट्रममा पुगेका छन्। तर प्रधानमन्त्रीलाई प्रश्न सोध्ने प्रक्रियालाई लिएर विपक्षी दलहरूले नियमापत्ति जनाएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्री शाहले बोल्न इच्छा व्यक्त गर्दै हात उठाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले संसद् सचिवालयका कर्मचारीसँग परामर्श गरेका थिए। प्रधानमन्त्रीले बोल्न चाहेमा समय दिन सकिने अभ्यास रहेको सुझाव पाएपछि सभामुखले उनलाई रोष्ट्रममा आमन्त्रण गरेका हुन्।
रोष्ट्रममा पुगेपछि प्रधानमन्त्री शाहले सांसदहरूले आफूलाई प्रश्न सोध्न पाउनुपर्ने माग उठेकाले त्यसकै आधारमा उपस्थित भएको बताएका थिए।
त्यसपछि सभामुख अर्यालले प्रत्येक दलबाट एक–एक जना सांसदलाई प्रश्न सोध्न अवसर प्रदान गर्ने घोषणा गरे। तर उक्त व्यवस्थाप्रति विपक्षी दलहरूले असन्तुष्टि जनाउँदै विरोध गरेका छन्।
विपक्षी सांसदहरूको तर्क छ कि प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने स्पष्ट व्यवस्था छ। त्यसैले नियमावलीमा तोकिएको प्रक्रिया अवलम्बन नगरी तत्काल प्रश्न सोध्ने व्यवस्था गर्नु उचित नहुने उनीहरूको भनाइ छ।
प्रधानमन्त्रीको उपस्थितिसँगै सदनमा प्रश्नोत्तरको प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषय अहिले प्रतिनिधिसभामा बहसको केन्द्र बनेको छ।



















