काठमाडौं । काठमाडौंको कीर्तिपुरमा अत्याधुनिक र सुविधासम्पन्न मप्टिप्लेक्स फिल्म हल कीर्तिपुर सिने प्लेक्स संचालनमा आएको छ । फिल्म निर्माता तथा वितरक नरेन्द्र महर्जनले संचालनमा ल्याएको हलमा दुई वटा अडिटोरियम छन् ।
अडिटोरियमको क्षमता दुई सय ८५ सिट रहेको छ । दुई अडिटोरियम भए पनि अहिले एउटा मात्रै संचालन हुनेछ । फिल्म हल शुभारम्भसँगै नेपाली फिल्म ‘आमा’ प्रदर्शन गरिएको छ । हल शुभारम्भ कार्यक्रममा नेपाली फिल्मका निर्देशक, निर्माता र कलाकारहरू सहभागी थिए । ‘आशा छ, फिल्म क्षेत्र बिस्तारै चलायमान हुनेछ,’ कार्यक्रममा संचालक महर्जनले भने ।
थ्रिडी प्रोजेक्सनसहित जेभिएल ध्वनी जडान भएको हलमा नेपाली, हिन्दी, अंग्रेजी र नेवारी फिल्म प्रदर्शन गरिने छ । नेपालमै पहिलोपटक निरन्तर रुपमा नेवारी फिल्म देखाइन लागिएको हो । शुक्रबार पहिलो दिन हलिउड फिल्म भेनम, नेवारी फिल्म हिसिमती प्रदर्शन गरिएको छ । आउँदो साताबाट फिल्म ‘सूर्यवंशी’ प्रदर्शन गर्ने जनाइएको छ ।
थपिँदैछन् नयाँ हल
यसैबीच चौडै नै क्युएफएक्सले दमौलीमा नयाँ हल संचालन गर्ने भएको छ । आफ्नै मापदण्डअनुसार तयार गरेर हल संचालन गर्ने तयारी गरिएको हो । यस्तै, दीपकराज गिरीको समूहले पनि नयाँ वानेश्वरमा हल संचालन गर्ने तयारी गरिरहेको छ ।