विदुर । नुवाकोट जिल्लाको लिखु गाउँपालिकामा नेकपा एमालेले महिलालाई अध्यक्ष बनाएको छ । मंगलबार भएको नेकपा एमाले लिखु गाउँपालिकाको अधिवेशनले दुर्गादेवी पुडासैनीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । अध्यक्षमा चार जना प्रत्यासी रहेपनि लामो छलफल पछि पुडासैनीको नाममा सहमति जुटेको थियो ।
गत स्थानीय निर्वाचनमा एमालेको तर्फबाट उपध्यक्षमा उम्मेदवार बन्न सिफारिस भए पनि भेगीय सन्तुलत मिलाउँदा पुडासैनीको नाम अन्तिम समयमा काटिएको थियो । नेतृत्व पाएसँगै उक्त गाउँपालिकामा एमालेलाई स्थानीय तहमा निर्वाचित गराउने नेतृत्व ३५ वर्षीया पुडासैनीको काँधमा आइपुगेको छ ।
विद्यार्थीकलादेखि नै एमालेको राजनीतिमा सक्रिय पुडासैनी नेकपाकालमा पार्टी भित्र विवाद हुँदा केपी ओली पक्षमा थिइन् । लिखु गाउँपालिका नेकपा एमालेका नेता एवं चीनका लागि निवर्तमान राजनदूत महेन्द्र बहादुर पाण्डेको गाउँ हो । गत स्थानीय निर्वाचनमा उक्त गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस विजय भएपनि उपाध्यक्षलगायतका अधिकांश पदमा भने एमाले नै विजयी भएको थियो ।
दुई नगरपालिका र दश वटा गाउँपालिका रहेको नुवाकोटमा चारवटा गाउँपालिकामा मात्र एमालेको अधिवेशन भएको छ भने बाँकीमा तिहार अघि नै अधिवेशन सक्ने एमाले नुवाकोटले जनाएको छ ।
मंगलबार नै भएको अधिवेशनबाट सूर्यगढी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र रिजाल निर्विरोध निर्वाचित भएका छन् । यस्तै, ककनी गाउँपालिकाको अध्यक्षमा शेषमान तामाङ (लामा) र तादी गाउँपालिकाको अध्यक्षमा सोभितराज पाठक निर्वाचित भएको एमालेले जनाएको छ ।
नुवाकोटमा महिला पालिका अध्यक्ष हुने पुडासैनी पहिलो हुन् । देशभर एमालेले पालिका अधिवेशन गरेपनि अधिकांशमा पुरुष अध्यक्ष चयन भएका छन् ।























