काठमाडौँ । विजयादशमीअन्तर्गत आज टिकाको तेस्रो दिन पनि मान्यजनका हातबाट टीका र जमरा लगाउने क्रम जारी नै रहेको छ ।
नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ । विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज तेस्रो दिन पनि टीका लगाइएको हो । मान्यजनको हातबाट दशैँको टीका लगाउन जानेहरु बढेसँगै काठमाडौं उपत्यकासहित देशभर चहलपहल बढ्न थालेको छ ।
आफन्तकहाँ जाने क्रम बढेसँगै काठमाडौं उपत्यकाका सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको हो । आमसर्वसाधारणहरु बडादशैँ मनाउन काठमाडौँबाट गाउँ फर्किएसँगै महाष्टमीदेखि सुनसान रहेको काठमाडौंमा पुनः चहलपहल बढ्न थालेको हो । बडादशैँमा यस वर्ष कोरोना सङ्क्रमण जोखिम कायमै रहे पनि गत वर्षभन्दा चहलपहल बढेको छ । खोप लगाउनेको संख्या बढ्दै गएको तथा संक्रमण पनि घट्दै गएपछि सरकारले यसपटक दशैँलगायतका चाडबाडमा विगतमा जस्तो कडाइ गरेको छैन ।

























