तनहुँ । ‘पिङ’ दसैं तिहारसँगै जोडिएर आउने शब्द जस्तै भएको छ । पिङले दसैं तिहार पर्वको मौलिकता र रौनकतालाई अझै उचो बनाउँछ । तर पछिल्लो समय सहरमा मात्रै होइन गाउँमा समेत पिङ देखिन छाडेको छ । एक दशकअघिसम्म भन्ज्याङ, चौतारी, गाउँ सहर जताततै दसैं अगावै देखिने लिंगे, पिर्के, जाते, लठ्ठे पिङ अब मुस्किलले देखिन थालेका छन् । यति मात्रै होइन चचहुई गर्दै पिङमा मच्चिदै खेल्ने युवायुवती समेत देखिन मुस्किल भएको छ ।
बुढापाकाले दसैंको दिन त एकपटक धर्ती छोड्नलाई पनि पिङ खेल्नुपर्छ भनेर भन्थे । बुढापाकाले भनाइलाई सार्थक बनाउन युवापुस्ताले गाउँगाउँमा पिङ हाल्ने प्रचलन थियो । तर एक दशकयता दसैं तिहारमा पिङ हाल्ने प्रचलन निरन्छर घटिरेहेको छ । जसका कारण गाउँघरमा न पिङ हाल्ने युवा छन्, न मच्चिदै खेल्ने पिङ नै छ ।
बर्षेनी पिर्के पिङ मच्चिने राईपुरस्थित भुस्नापुर फुलपाती डाँडो यसपाली सुनसान बन्यो । केही बर्षदेखि यहाँ पिङ हाल्न छाडिएको छ । गाउँ बसाईसराईले रित्तिदो छ । बुढापाका मात्रै छन् गाउँमा । युवा सबै सहर बजार र विदेशमा छन् । गाउँमा पिङ नहुँदा दसैं खल्लो महशुस भएको ७४ बर्षीय चित्रबहादुर हमाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पिङ नभएपछि त दसैं दसैं जस्तो नहुँदो रै’छ । पिङ हुँदा कति रमाइलो हुन्थ्यो । अहिले खल्लो भइरहेको छ, पिङ नहुँदा दसैंको महत्व कम भएको छ ।’
उहाँका अनुसार राईपुरका सबैजसो गाउँमा पिर्के पिङ हालिन्थ्यो । पिर्के पिङ नहालेको गाउँमा लिंगे र जाते पिङ हुन्थे । हरेकजसो घरको आँगनमा बाँबियोको लठ्ठाले हालिएको पिङमा केटाकेटी झुम्मिएर दसैंदेखि तिहारसम्म खेलिरहन्थे । त्यो दृश्य अहिले एकादेशको कथा जस्तै बनेको छ । शुक्लागण्डकी–११ राईपुरको थामडाँडा र गामीछाक्रामा मात्रै पिर्के पिङ हालिएको छ । अहिले गाउँमा युवा नहुँदा पिङ हाल्न कठिन भएको हमालको भनाई छ ।
गाउँमा युवाहरू नभएपछि शुक्लागण्डकी–१० कोलम्फेको जनचेतना युवा क्लबले ज्यालामा कामदार खटाएर पिङ हालेको छ । २५ हजार रुपैयाँ खर्चेर पिङ हालेको क्लबका सचिव अभिषेक थापाले बताउनुभयो । ‘पछिल्लो समय पिङ हाल्ने सँस्कृति हराउदैँ गईरहेको छ । हामीले जगेर्ना गर्न आर्थिक संकलन गरेर ज्यालामा कामदार खटाएर पिङ हाल्यौँ’, उनले भने । जंगलबाट काठ काटेर ल्याएर पिङ ठड्याउनलाई धेरै जनशक्ति चाहिन्छ । तर, बसाईसराई, वैदेशिक रोजगारका कारण गाउँ सुनसान बनिरहेको छ ।
बडो कष्टपूर्ण तरिकाले जिल्लाका केही स्थानमा यसपालिको दसैंमा सँस्कृति जोगाउनकै निम्ति पिर्के पिङ हालिएको छ । एकाध स्थानमा लिंगे पिङ ठडिएको छ । जाते पिङ भने लोप भईसक्यो । सँस्कृति जोगाउनैका निम्ति हालिएका पिङ खेल्नेको संख्या पनि कम छ । खेल्न आउनेको प्रतिक्षामा बसेका छन् पिर्के र लिंगे पिङ ।
गाउँमा पिङ हाले पनि पहिला जस्तो पिङ खेल्नेहरु नआएको शुक्लागण्डकी–३ कालीम-याङका विरेन्द्र थापाले बताउनुभयो । ‘सँस्कृति जोगाउनलाई पिङ हालेका छौँ । छिटफुट मात्र पिङ खेल्न आएका छन् । पहिला जस्तो माहोल छैन । गाउँगाउँबाट पिङ खेल्न आउनेको भिड हुँदैन आजभोलि’, उहाँले भन्नुभयो । मेला महोत्सवका पिङले गाउँका पिङमा आकर्षण कम गराईदिएको उनको भनाइ छ । आधुनिकतामा रमाउँदा युवापुस्ताले मौलिक सँस्कृतिलाई बिर्सेको थापाको भनाइ छ ।
पर्यटकीय नगरी बन्दीपुरमा लिंगे पिङ हालिएको छ । टुडिखेलमा एउटा लिंगे पिङ र अर्को रुखमा लठ्ठा हालेर लठ्ठे पिङ बनाएको पर्यटन व्यवसायी विपिन प्रधानले जानकारी दिए । प्रधानका अनुसार पिङ खेल्नेको भिड लागेको छ । ‘सँस्कृतिको जर्गेनासँगै पर्यटकलाई आकर्षित गर्न पिङ हालेका छौँ । रातीमा पनि उज्यालो बत्ती राखिएको छ ।’ उहाँले भन्नुभयो । पिङ हाल्ने र खेल्ने सँस्कृति मात्रै होइन समग्र दसैंको मौलिकता र रौनकता समेत गुम्दैछ ।