काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार बिहान काठमाडौं र नयाँ दिल्लीस्थित ईयू आबद्ध देशका राजदूत तथा मिसन प्रमुखहरू लगायत २३ जना कुटनीतिज्ञसँग सामूहिक भेटवार्ता गरिएको हो।
मंगलबार बिहान करिब ११ बजे जर्मनी, फ्रान्स, बेल्जियम, बुल्गेरिया, साइप्रस, अष्ट्रिया, डेनमार्क, फिनल्याण्ड, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल, स्पेन सहित युरोपेली देशका राजदूत तथा ‘डेपुटी चिफ अफ मिसन’ सिंहदरबार पुगेका थिए।
छलफलका क्रममा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषय तथा आपसी सहकार्यका विभिन्न आयाममा विचार आदानप्रदान भएको सचिवालयले जनाएको छ।
यसअघि पनि प्रधानमन्त्री शाहले चैत २५ गते नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट तथा संवाद गरेका थिए।



















