वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पर्सा जिल्ला अदालतले मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले मेयर सिंहविरुद्ध परेका चार वटा मुद्दामध्ये लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको पुष्टि गरे। उनका अनुसार मेयर सिंह, सिन्धुपलान्चोकको इन्द्रवाती नगरपालिकाकी ४२ वर्षीया रिता भट्टराई र वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का तत्कालीन पन्जिकाधिकारी वीरगन्ज–१५ निवासी ६१ वर्षीया भिखारी रायविरुद्ध पर्सा जिल्ला अदालतले पक्रा पुर्जी जारी गरेको हो।
यता जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले पनि मेयर सिंहसहित तीन जनाविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको बताए। पर्सा जिल्ला अदालतबाट जारी पक्राउ पुर्जी मंगलबार साँझ जिल्ला प्रहरी कार्यालयमा प्राप्त भएको भन्दै उनले पक्राउ पुर्जी जारी प्राप्त भएलगत्तै मेयर सिंहसहित तीन जनालाई पक्राउ गर्नका लागि प्रहरी परिचालन भइसकेको जानकारी पनि दिए।




















