काठमाडौं । न्यूरोड खिचापोखरी क्षेत्रबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) बरामद गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा गरेको अपरेशनमा भेपसँगै ललितपुर महानगरपालिका–८ निवासी ३२ वर्षीय नवीन खड्कालाई नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरीले काठमाडौं महानगरपालिका–२२ स्थित आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा रहेको ‘स्माइल योर च्वाइस’ पसल तथा सोही कम्प्लेक्सको अर्को भवनमा रहेको ‘भेपमान्डु ट्रेडर्स प्रालि’को गोदाममा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा विभिन्न कम्पनीका २८ हजार ५ सय वटा बिलबिजकविहीन भेप बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका खड्का उक्त पसलका सञ्चालक रहेको प्रहरीले जनाएको छ ।




















