Margadarsan


  • जनकपुरका प्रवेश मल्लिकको बलिउडमा कमाल

    मार्गदर्शन २९ आश्विन २०७८, शुक्रबार

    काठमाडौँ । नेपाली कलाकारको सपना हुने गर्छ बलिउड र हलिउड । किनकि त्यहाँ सिर्जना हुने सामग्रीले ठूलो बजार पाउने गर्छ । बजार मात्र नभनौँ एक सर्जकको सिर्जनाले धेरैको साथ पाउने गर्छ ।  त्यसैले गर्दा पनि कलाका सर्जकको सपना त्यसतर्फ आकर्षित हुने गर्छ । त्यसो त केही वर्ष अगाडिसम्म पनि नेपालबाट बलिउड जाने सपना धेरैको हुन्थ्यो । त्यहाँ नेपालीमुलका उदित नारायण झा, मनिषा कोइरालालगायत स्थापित भइसकेका थिए । त्यसैले गर्दा पनि त्यहाँ पुग्ने सपना हेर्दा क्षमताले पूरा गर्न सक्ने सामर्थ्य थियो, हाम्रा कलाकारलाई । केही वर्ष अगाडि यस्तै सपना देखेका थिए, प्रवेश मल्लिकले ।

    जनकपुरमा जन्मिएका प्रवेश सांगीतिक माहोलमै हुर्किए । उनले संगीतलाई सानैदेखि शिक्षासँगै ग्रहण गरे । सानैदेखि संगीतमा लगाव भए पनि प्रवेशले बाध्यताले अर्कै पेसामा गए । तर, अन्ततः उनले संगीतमै सफलता हात पारे । पछिल्लो समय उनले नेपाली फिल्म ‘संरक्षण’ र ‘फाटेको जुत्ता’मा आफ्नो संगीत र स्वर दिइसकेका छन् । यतिबेला आईएम सरी बोलको गीत चर्चामा छ, जसलाई प्रवेशले तयार पारेका हुन् । उनी बलिउडमा संघर्ष गरिरहेका छन् ।

    उनले जय गंगाजल र बरेलीकी बर्फी फिल्ममा काम गरिसकेका छन् भने अब छिटै नै करण जोहरको धारमा प्रोडक्सनको एक फिल्मलाई उनलाई कम्पोजरको रूपमा सुन्न पाइनेछ भने मिल्यो भने भोकल पनि । तर, प्रवेशलाई बलिउडमा इन्ट्री गर्न त्यति सहज भने थिएन । उनले धेरै संघर्ष गरेका छन् । हामीसँग उनै प्रवेशले संघर्षको कथा खुलाएका छन् ।

    संगीतमा लगाव

    मेरो परिवार नै संगीतमा भएकोले गर्दा म सांगीतिक माहोलमै हुर्किंए । मेरो अभिभावक मैथली गीतसंगीतमा हुनुहुन्थ्यो । सायद त्यसैको प्रभाव हुन सक्छ । मैले पनि संगीतलाई नै जीवन बनाउने सोच बनाउन थालेँ । मैले उच्च शिक्षा हासिल गर्दैगर्दा एक नेपाली र मैथली भाषाकै दुई एल्बम पनि ल्याएँ । मुटुभरि माया, छौडा तोहरा बज्जर खस्थो र गीत घरघर के एल्बम ल्याएँ । मैथली गीतलाई त जनकपुर लगायतका स्थानमा रुचाइयो । तर, म्युजिक नेपालमार्फत ल्याएको मुटुभरि माया भने ओझेलमै पर्‍यो । त्यसपछि म अध्ययनकै सिलसिला दिल्ली गएँ । मध्यम परिवारको भएकोले गर्दा मैले म्युजिकलाई नै करियर बनाउने अवस्था त थिएन । तर, अरु काम गरे पनि म्युजिक भने छाड्न सकिन ।

    दिल्लीको बसाइ र संघर्ष

    सुरुवाती दिनमा रहर हुँदाहुँदै पनि मैले संगीतलाई शिक्षाको रूपमा लिन सकिन । मैले प्राविधिक शिक्षालाई परिवारको आग्रहमा अगाडि बढाएँ । तर, अन्ततः जे मनमा थियो त्यो त कहाँ जान्थ्यो र । मैले दिल्ली युनिभर्सिटीबाट संगीतमा मास्टर्स गरेँ । मैले पढ्नु त संगीत नै थियो, अन्य पढाइ त म घरको लागि पढ्दै थिएँ । सायद यसैले गर्दा होला यसमै संघर्ष गरेँ, अनि यसमै रमाएँ ।

    मुम्बई यात्रा

    संगीत सिक्दासिक्दै मैले केही काम पनि गरेँ । संगीत सिकाउँथे भने जिंगलहरु पनि बनाउथेँ । विवाहपछि मैले संगीतलाई निरन्तरता शिक्षकको रूपमा लिएँ । किनकी म केहि पारिवारिक दायित्वमा अल्झीए भने संगीतलाई सिकाउने तरिकाले निरन्तरता दिन थालेँ । कम्पोज नगरेको होइन, तर त्यसको कुनै अर्थ थिएन ।  सायद मैले आफ्नो उद्देश्य नै भुलिसकेको थिएँ । तर मेरो श्रीमतीले त्यसलाई भुलिनन् । उनैले मेरो राजीनामा लेखेर म शिक्षक रहेको स्कुललाई पठाइन् र मलाई दिल्लीबाट मुम्बई ल्याइन् । मैले पनि ५ वर्षको जागिर छाडेर मुम्बई गएँ ।

    बलिउडसँग सम्पर्क

    मुम्बई त पुगेँ, तर म एक्लो थिएँ । सन् २०१३ मा त्यहाँ पुगेको थिएँ । मेरो एक भाइको रिलेटिभ सन्तोष मण्डल थिए । उनी प्रकाश झाले निर्देशन गर्ने फिल्ममा सम्पादकको रूपमा कम गर्छन । उनले धेरै फिल्ममा सम्पादनको काम गरेका छन् । उनलाई एक पार्टीमा भेटेपछि मेरोबारेमा भाइले कुरा गरे । त्यति बेलात उहाँले केही भन्नु भएन । तर, जब प्रकाश झा प्रोडक्सनबाट जय गंगाजल बन्ने भयो, तब मलाइ बोलाउनु भयो ।

    बलिउडमा पहिलो दिन

    मुम्बई आएदेखि नै संघर्ष गरिरहेको थिएँ । दिल्लीमा त जागिर थियो । तर, यहाँ आएदेखि नै त्यस्तो केही काम थिएन । संगीतमै दिन बित्थ्यो । कहिले काहीँ आउने जिंगलले गुजारा चलाएको थिएँ । भाइमार्फत सन्तोषजीलाई भेटेको पनि दुईवर्ष भइसकेको थियो । तर, अझै फोन आएको थिएन । सन्तोषजीले फोन गरेको भनेको एक दुई महिना त फोन पनि नेटवर्क आउने ठाउँमा फुल चार्जमा राख्ने गरेको थिएँ । तर, दुई वर्षपछि मलाई जय गंगाजल बन्दै छ, आफुसँग भएका संगीत लिएर आउनु भन्ने खबर आयो । मलाई फ्लोक गीत लिएर आउनु भन्नुभएको थियो, त्यो पनि रेकर्डिङमा ।  तर, मसँग त्यो थिएन । अनि मैले हार्मोनियममा सामान्य स्क्र्याच बनाएर लिएर गएँ ।

    प्रकाश झाको प्रोडक्सनमा गएर पनि केही समय कुरेर उहाँलाई भेट्ने अवसर पाएको थिएँ । मुम्बई इन्टरपछि आफ्नो सपनालाई मूर्तरूप दिने अवसर पाउँदै थिएँ । पहिलो भेटमै मैले उहाँलाई आफूसँग भएका केही संगीत सुनाए । त्यसपछि उहाँले मलाई तीन दिनको समयमा दिनुभयो । उहाँले मलाई केही अवस्था दिएर समय दिनुभयो । तीन दिनपछि गएर भेटेँ र मैले सुनाएका संगीतमध्ये केहीलाई उहाँले मन पराउनुभयो र मैले काम गर्ने अवसर पाएँ । उहाँले मलाई संगीतकार सलिम र सुलेमानलाई भेटाउनुभयो । उहाँले मेरो भोकललाई रुचाउनु भयो । त्यसपछि मलाई नै दुई फिल्ममा गीत गाउन दिनुभयो । त्यसपछि मेरो नेटवर्क बन्यो । त्यसपछि मलाई सानो काम त आउँथ्यो नै ठूलो काम पनि उत्तिकै गर्न थालेँ । गंगाजलको मैले जुन टेक्सरको कारण पाएको थिएँ, बरेली कि बर्फीमा -याप लेख्ने र गाउने मौका पनि त्यसैले गर्दा नै पाएँ ।

    नेपाली गीत संगीतसँग पनि जोडिएँ

    नेपाली फिल्ममा फेरि आउनुको कारण भने पुर्नेन्दु झा नै हुन् । उनले मैथली भाषामै एक सर्ट फिल्म बनाएका थिए, जसमा संगीत मेरो रहेको थियो । सायद त्यो उसलाई मन प-यो होला, त्यसैले उहाँले फिल्म सुरु गर्ने बेलामा खोज्नु भयो । म दिल्लीमै थिएँ । पुर्नेन्दुले भेट्दा फिल्ममा होलीको गीत बनाउन भन्नुभयो । सुरुवातमा त त्यो फिक्ममा एउटा मात्र गीत थियो । तर, पछि मलाइ अन्य गीत पनि आयो । अनि त्यो फिल्ममा गरेको गीतकै कारण अर्को गीत आईएम सरि पनि पाएँ । संरक्षणमा जोडिसकेपछि कामेश्वर चौरासियासँग चिनजान भयो, पछि उहाँ फाटेको जुत्तामा अभिनय गर्नु हुने भएछ ।

    त्यसपछि उहाँले नै निर्देशक निकेश खड्कालाई रिफर गर्नु भएछ । त्यसपछि फोनमा कुरा भएर मैले केही बनाएर पठाएँ । सुरुवातमा सौगात मल्ललाई नै त्यो गीत गाउन दिने कुरा थियो । तर, अन्ततः डमी आवाजलाई मन पराएपछि मैले नै गाएँ । यसका साथै उनले पछिल्लो समय फिल्म ’बिहे पास’ मा खाली छैन मेरो मन बोलको गीतमा स्वर दिएका छन् ।

    यस्तै उनले बलिउडमा बरेली कि बर्फी, अगम, जबरिया जोडी, तानाशाह र कागजमा संगीतसँगै स्वर दिइसकेका छन् । उनी पछिल्लो समय पनि बलिउडमा संघर्षरत नै छन् ।

    फेसबुक प्रतिक्रिया