काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले आफ्नो दल नेपाली जनताको सेवा गरी देशको मुहार फेर्ने उद्देश्यका साथ राजनीतिमा आएकाले यसका नेता–कार्यकर्तालाई भुइँमा न भाँडोमा हुने छुट नरहेको बताएका छन् ।
शनिबार (जेठ २३) सुनसरीको लौकहीमा रास्वपाको जिल्ला अधिवेशनमा उनले आफूहरूको पार्टी नेपाली जनताको वास्तविक सेवक भएको उल्लेख गरे । यसले नै यो देशको भाग्य र भविष्य निर्माण गर्छ भन्ने सोच र व्यवहारका साथ जनताको भरोसायुक्त पार्टीका रूपमा लाग्न सबै कार्यकर्तालाई परियारले आग्रह गरेका उनको सचिवालयले जनाएको छ ।
केही दिनअघि संघीय संसद्मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका सम्बोधन स्मरण गर्दै सचेतक परियारले भने, “जसरी संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन माओवादी पार्टीले झन्डै दुईतिहाइ बहुमत प्राप्त गर्दा जनताको सेवा गर्नुको सट्टा भुइँमा न भाँडोमा भएर यो हालतमा आयौँ भन्नुभएको थियो, त्यस्तो काम गर्ने छुट हामलाई छैन र रास्वपाको कुनै कार्यकर्ताले त्यो सोच कदापि राख्नु हुँदैन ।”
देशका वास्तविक समस्या र आवश्यकतालाई शिरमा राखेर केही गर्नुपर्छ र गर्छौं भन्ने भावनाका साथ जनताका बीचमा होमिन उनले रास्वपाका सबै कार्यकर्तालाई आग्रह गरे । राष्ट्रिय स्वतन्त्र पार्टीको शिरभन्दा पनि माथि नेपाली जनता रहेको सचेतक परियारको भनाइ थियो ।
रास्वपालाई ठूलो संख्या अर्थात् भीडको भन्दा पनि जनसेवा र देश विकास गर्ने असल कार्यकर्ताको खाँचो रहेको उनले बताए । उनले भने, “कार्यकर्ताको भीडले मात्र हुने भए १० लाख क्रियाशील सदस्य रहेको कांग्रेस, आठ लाख संगठित सदस्य रहेको एमाले तथा ‘कि मृत्यु कि मुक्ति’को नारा दिएर महिलाका काँधमा बन्दुक राखेर अघि बढेको माओवादीको हालत अहिले यस्तो हुने थिएन ।”
सचेतक परियारले सुनसरी मुस्लिम, खसआर्य, जनजाति, सीमान्तकृत समुदायको संगमसहितको सामाजिक समावेशिताको अनुपम उदाहरण पाइने जिल्ला भएको बताए । आउँदो स्थानीय तह निर्वाचनमा रास्वपाले यो अनुपम उदाहरणको सम्मान गर्दै यहाँको नेतृत्व गर्ने गरी अघि बढ्ने उनले बताए ।
उनले भने, “यस जिल्ला र अन्य स्थानीय तहमा आगामी निर्वाचनमा रास्वपाले नेतृत्व गर्नेछ र अहिले संघ सरकारमा जसरी राम्रो काम गरेर जनताको मन जितिरहेको छ, देशका हरेक स्थानीय तहमा त्यस्तै काम गरेर जनताको घरदैलोको सरकारको भरोसा प्रदान गर्नेछ ।” रासस




















