काठमाडौं । ठट्टा र व्यंग्यबाट सुरु भएको भारतको चर्चित युवा अभियान कक्रोच जनता पार्टी (सीजेपी) पहिलो पटक सडक आन्दोलनमा उत्रिएको छ। नयाँ दिल्लीस्थित जन्तर मन्तरमा शनिबार आयोजित प्रदर्शनमा सयौं युवा, विद्यार्थी तथा अभिभावक सहभागी भएका छन्। आन्दोलनको नेतृत्व गर्न अमेरिकाबाट भारत फर्किएका संस्थापक अभिजीत दीपके बिहानै दिल्ली पुगेका हुन्।
दिल्ली प्रहरीले प्रदर्शनस्थल वरपर व्यापक सुरक्षा व्यवस्था मिलाएको छ। सम्भावित झडप र अशान्ति रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने केही सडक क्षेत्रमा अवरोधसमेत लगाइएको छ। प्रदर्शनका क्रममा दुई पक्षबीच तनाव उत्पन्न हुन सक्ने सूचनापछि प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सीजेपीले शिक्षा क्षेत्रका अनियमितता, प्रश्नपत्र चुहावट, बेरोजगारी तथा युवासम्बन्धी मुद्दालाई केन्द्रमा राख्दै आन्दोलन गरेको जनाएको छ। प्रदर्शनकारीहरूले भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामासमेत माग गरेका छन्।
गत मे महिनामा सामाजिक सञ्जालमार्फत सुरु भएको यो अभियानले छोटो समयमै इन्स्टाग्राममा करिब २ करोड २० लाख फलोअर जुटाएको छ। सामाजिक सञ्जालमा तीव्र लोकप्रियता हासिल गरेपछि सीजेपीलाई भारतको हालसम्मकै सबैभन्दा ठूलो अनलाइन युवा आन्दोलनका रूपमा हेरिएको छ।
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोजकहरूले सहभागीहरूलाई राष्ट्रिय झण्डा बोक्न, अनुशासित रहन र कुनै उक्साहटमा नपर्न आग्रह गरेका छन्। आन्दोलनले अब अनलाइन असन्तुष्टिलाई सडकस्तरको दबाबमा रूपान्तरण गर्ने प्रयास गरिरहेको विश्लेषकहरूको भनाइ छ।
हालसम्म प्रदर्शन शान्तिपूर्ण रहेको र थप अप्रिय घटना नघटेको दिल्ली प्रहरीले जनाएको छ।




















