काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान चाड बडादशैँ (विजया दशमी) को नवौँ दिन नौवटी कन्याहरुको पूजा गर्नुभएको छ ।
बिहीवार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति भण्डारीले महानवमीको शुभ दिनमा नौवटी कन्याको पूजा गर्नुभएको हो । बडा दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा,पाचौँ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी र सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ ।
विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २,३,४,५,६,७,८,९ वर्षकी कन्याको पूजा गर्ने परम्परा रहेको छ । वैदिक सत्य सनातन हिन्दू धर्म शास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरुको पूजा गर्नुपर्ने भनिए पनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकैपटक नौवटी कन्यालाई नवदुर्गाको प्रतिक मानेर पूजा गरिएको हो ।
सोही परम्परा अनुसार राष्ट्रपति भण्डारीले आज महानवमीको दिन शितलनिवासमै नौवटी कन्याको पूजा गर्नुभएको हो ।


























