काठमाडौँ । नेपाली सेनाले परम्परागत रूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनुहुनेछ । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

सो अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्ने भएको छ । सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत हुनेछ । सो अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ हुनेछ ।

कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम आयोजना गरिन लागेको हो । सो समारोहमा उपस्थित सबै पाहुनालाई मास्कको प्रयोग गर्न अनुरोध गरिएको छ ।