काठमाडौँ । नेपालीहरुको महान् चाड बडादशैंको आगमनसँगै काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । दशैंको टीकाको दिन नजिकिँदै जाँदा उपत्यका छोड्नेको चाप बढेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासका अनुसार असोज ११ गतेदेखि आज २५ गतेसम्म ६ लाख पाँच हजारले काठमाडौँ उपत्यका छोडेका छन् । दशमी तिथिसम्म घर जानेहरु हुने भएकोले यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरू कलंकी, बल्खु, कोटेश्वर, बालाजुलगायत क्षेत्रमा घर फर्किनेहरूको सोमबार पनि बिहानैदेखि ठूलो भिड लागेको छ । शिक्षा, रोजगारी तथा व्यावसायिक कामले घरबाहिर रहेकाहरू दसैँमा आफ्नो गाउँ फर्कने गरेका कारण काठमाडौंबाट बाहिरिनेहरूको भिड बढेको हो ।
कोरोना महामारीको जोखिमबीच पनि मानिस काठमाडौं उपत्यकालगायत सहरबाट घर फर्किरहेका छन् ।