काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी अनुसन्धान कार्यमा कसैसँग सम्झौता नगर्ने संगठन भएको बताउनुभएको छ । नेपाल प्रहरी कुनै शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको उहाँको भनाइ छ ।
६६औं प्रहरी दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘निष्पक्ष अनुसन्धान कानूनी राज्यका आधार हुन्, यसले पीडितलाई न्याय दिलाउनुका साथै दण्डहीनताको अन्त्य गर्नसक्छ, शक्तिबाट प्रभावित नभई निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने विश्वास लिएको छु ।’
उहाँले विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा संगठित एवं विद्युतीय सञ्जालमा आधारित भएर विश्वभरि फैलिएका अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहन प्रहरीलाई सुझाव दिनुभयो । प्रहरी संगठनले थालेका सुधारात्मक प्रयासका रचनात्मक कार्यलाई सफल तुल्याई संस्थागत विकासमार्फत प्रभावकारी सेवा प्रवाह गर्न प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो ।
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा सुरक्षा निकायलाई सक्षम, निष्पक्ष, पारदर्शी र उत्तरदायी रुपमा सञ्चालन गर्दै सुरक्षा अंगको व्यावसायिकतामा जोड दिने कुरा समावेश गरिएको भन्दै उनले प्रहरीको मनोबल उच्च बनाउने र साधनस्रोत उपलब्ध गराउने कुरामा सरकार संवेदनशील रहेको बताउनुभयो ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले अपराध अनुसन्धान तथा त्यसको नियन्त्रण, अनुशासन र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी रहेको नेपाल प्रहरीलाई साधनस्रोत सम्पन्न गराउने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले नयाँ चुनौती सामना गर्न प्रहरीलाई सरकारको पूर्ण साथ र सहयोग रहनेसमेत प्रतिबद्धता जनाउनुभयो ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीको मनोबल उच्च बनाउन तत्कालीन र दीर्घकालीन योजना बनाएर कार्यान्वयनमा लागेको बताउनुभयो । व्यावसायिक, जुझारु र आँटिला प्रहरी कर्मचारीका कारण नेपाल प्रहरी अविच्छिन्न अस्तित्वमा रहेको उहाँको भनाइ छ ।
समारोहमा प्रधानमन्त्री देउवाले पहिलो महिला प्रहरी (पूर्व प्रहरी सहायक निरीक्षक) चैतमाया डंगोललाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गर्नुभयो । डंगोलले २००८ सालमा पहिलो महिला प्रहरीको रुपमा सेवा सुरु गर्नुभएको थियो । अहिले ९० वर्ष पुगेकी डंगोलले ३२ वर्ष प्रहरीमा सेवा गर्नुभएको थियो ।
समरोहमा प्रधानमन्त्री देउवाले अच्युत–मीना अमर प्रहरी परिवार पुरस्कार तथा छात्रवृत्ति प्रदान गर्नुभएको थियो । त्यसअघि प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँडले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो । प्रहरी दिवसको अवसरमा यस वर्ष कर्तव्य पालनाको सिलसिलामा अमरत्व प्रदान गर्ने ३३ प्रहरीका परिवारलाई सम्मान गरिएको थियो । त्यसमध्ये सात जनालाई काठमाडौँबाट र अन्य २६ जनालाई विभिन्न प्रदेशमार्फत सम्मान गरिएको थियो ।




















