काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट धावनमार्ग जाने क्रममा घाँसे मैदानमा धसिएको श्री एयरलाइन्सको जहाजलाई बाहिर निकालिएको छ ।
विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारीहरूले गैँतीलगायत उपकरण प्रयोग गरी धसिएको पांग्रालाई माथि उठाएर बाहिर निकालेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । घाँसे मैदानबाट बाहिर निकालिएको उक्त जहाजको नेपाल नागरिक उड्डयन प्राधिकरण एवं श्री एयरलाइन्सका प्राविधिकहरूले चेकजाँच गरिररहेको तिवारीले बताए ।
९ एन एएनएफ कलसाइनको क्यू ४००–८ जहाज मंगलबार काठमाडौंबाट नेपालगन्ज जाने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँस क्षेत्रमा चिप्लिएको थियो । उक्त जहाजमा चालक दलसहित ८० जना सवार थिए ।
जहाजमा कुनै क्षति नभए पनि ह्वील परिवर्तन गर्ने काम भइरहेको बताइएको छ ।
नाइन एन एएनएफ कलसाइनको क्यू ४००-८ जहाज काठमाडौंबाट नेपालगञ्ज जाने क्रममा थियो । सो जहाज मंगलबार बिहान ९ बजेर ३३ मिनेटमा धावनमार्गमा जाने क्रममा पार्किङ क्षेत्रमै एउटा चक्का घाँस क्षेत्रमा फसेको थियो ।
सो जहाजमा यात्रुहरुलाई अर्को जहाजमा पठाउने तयारी छ । सो जहाजमा चालक दलका चार सदस्यसहित ८० जना सवार थिए । जहाजमा कुनै क्षति भएको छैन ।




















