काठमाडौं । होटल व्यवस्थापन अध्ययनरत छात्रछात्राको प्रतिभा प्रस्फुटन र प्रोत्साहनका लागि काठमाडौंको मण्डिखाटारस्थित ग्लोबल कलेज अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले आयोजना गर्दै आएको मिस्टर एन्ड मिस गेट-२०२१ हालै सम्पन्न भएको छ ।
विश्वव्यापी कोभिड-१९ महामारीपछि होटल व्यवस्थापन तथा आतिथ्य सत्कारका विद्यार्थीहरूले महामारीबाट सिकेको पाठसँग जुझ्दै सामान्य जीवनमा फर्कन अभ्यस्त गराउने मूल उद्देश्यसहित सो प्रतियोगिता आयोजना गरिएको गेट कलेजले जानकारी दिएको छ ।
“हामी सँधै महामारी भनेर पनि बसेर हुँदैन । महामारीले हामीलाई धेरै कुरा सिकाएको छ, अब हामी महामारीसँग अभ्यस्त हुँदै त्यससँग जुझ्दै पुनः सामान्य जीवनमा फर्कनु पर्नेछ, जसलाई न्यू नर्मल भनिएको छ,” गेट कलेजका संस्थापक/ प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले भन्नुभयो,“महामारीले हामीलाई सिकाएको सबैभन्दा ठूलो कुरा स्वास्थ्य र सरसफाइ (हेल्थ एन्ड हाइजिन) को कुरा हो, जुन पर्यटन उद्योगका लागि सबैभन्दा अपरिहार्य नै हो ।”
कोभिड-१९ महामारीले नेपालसहित विश्वकै पर्यटन उद्योगमा नराम्रोसँग प्रहार गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले नेपाली पर्यटन क्षेत्रको मौलिक विशेषतालाई अब स्वास्थ्य र सरसफाइसँग जोडेर लगे यसले छिट्टै पुनर्जीवन पाउने धारणा व्यक्त गर्नुभयो ।
“होटल व्यवस्थापन र आतिथ्य सत्कारका विद्यार्थीहरूले सिक्ने भनेको होटल र पर्यटन क्षेत्रका सत्कारका विभिन्न पाटोमात्र होइन। हेल्थ एन्ड हाइजिनलाई पर्यटनसँग नजोड्ने हो भने नेपालको मात्र होइन, विश्वको कुनै पनि देशको पर्यटन ब्युँतन सक्दैन,” लकाईंले थप्नु भयो ।
प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई कोभिड-१९ महामारीबाट सिकेको पाठ र त्यसलाई आर्थिक सत्कार क्षेत्रमा अब कसरी समावेश गरेर पर्यटकीय गतिविधिलाई यथास्थितिमा फर्काउन सकिन्छ भन्ने प्रश्न गरिएको थियो । प्रतियोगिताका सहभागीहरूले तोकिएका स्वास्थ्य मापदण्ड र स्वास्थ्य तथा सरसफाइका निर्देशिकाको अधिकतम पालना गर्दै अतिथिका लागि स्वस्थ्यकर सेवा दिन सकिने धारणा राखेका थिए ।
प्रतियोगितामा विशाल विष्टले मिस्टर गेट-२०२१ र खुस्बु गिरीले मिस गेट-२०२१ को उपाधि जिते भने जिया शाहीले गेट पर्सनालिटीसहित सोसल मिडिया पर्सनालिटी र विधान थापाले गेट ट्यालेन्ट उपाधि जितेका थिए ।