काठमाडौँ । कोरोना भाइरसविरुद्धको खान मिल्ने औषधि बन्ने क्रममा अन्तिम चरणमा पुगेको छ ।
अन्तिम परीक्षणमा रहेको एक औषधिले गम्भीर अवस्थाको कोभिड–१९ को संक्रमण भएमा अस्पताल भर्ना वा सम्भावित मृत्यु आधाले कम गर्ने बताइएको छ । मोल्नापिराविर नामको ट्याब्लेट औषधि दिनको दुईपटक बिरामीलाई दिइएको थियो ।
अमेरिकी औषधि उत्पादक मर्कले नतिजा निकै सकारात्मक आएको बताएको छ । मर्कले अबको दुई हप्ताभित्रै अमेरिकामा सो औषधि आकस्मिक प्रयोगको स्वीकृतिका लागि निवेदन दिने तयारी गरेको छ ।
अमेरिकी राष्ट्रपति बाइडेनका प्रमुख स्वास्थ्य सल्लाहकार डा. एन्थोनी फाउचीले मोल्नापिराविरको परीक्षण नतिजा निकै राम्रो रहेको बताउनुभएको छ । तर, फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशनले परीक्षणको नतिजा पुनर्मूल्यांकन नगर्दासम्म सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो । नियामक निकायहरुले यो औषधिलाई स्वीकृति प्रदान गरेमा कोभिड–१९ को उपचारका लागि प्रयोगमा आउने पहिलो खाने औषधि बन्ने सम्भावना बलियो रहेको छ ।



















