काठमाडौँ । काठमाडौँबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवाको सुरुवात भएको छ । विसं २०६० देखि काठमाडौँ–पोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौँ–मेघौली बस सेवा सुरु गरेको हो । प्रालिका अध्यक्ष प्रल्हाद लोहनीले कोरोनाबाट थलिएको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पहिलोपटक काठमाडौँ–मेघौली पर्यटक बस सेवा सञ्चालन गर्न लागेको बताउनुभयो ।
यस्तै उक्त बस सेवाले आजैदेखि काठमाडौँ–भैरहवा–सुनौलीसमेत बस सेवा विस्तार गरेको छ । भारतीय पर्यटकलाई लक्षित गरेर काठमाडौँ– भैरहवा–सुनौली बस सेवा विस्तार गरिएको अध्यक्ष लोहनीको भनाइ छ । नयाँ गन्तव्यमा बस विस्तार गरेसँगै अब दैनिक चार बसले यात्रुलाई सेवा प्रदान गर्ने भएका छन् । काठमाडौँदेखि मेघौलीका लागि हरेक दिन बिहान ७ः०० बजे सोह्रखुट्टेबाट र काठमाडौँदेखि भैरहवा हुँदै सुनौलीसम्म हरेक दिन बिहान ७ः३० बजे बालाजुबाट बस छुट्नेछन् । उक्त बसको टिकट प्रालिको कार्यालय, अनलाइन र इसेवामार्फत काट्न सकिने अध्यक्ष लोहनीले जानकारी दिनुभयो ।

























