भक्तपुर । गीतकार एवम् मुक्तककार सुवासचन्द्र ढुंगेलले ‘मुक्तकको कथा’ नामक कार्यक्रम सुरु गर्नुभएको छ । ‘सुवासचन्द्र ढुंगेल अफिसियल’ युट्युब च्यानलबाट प्रशारण हुने कार्यक्रम ‘मुक्तकको कथा’ को शुक्रबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
चार दशकदेखि आफ्ना कालजयी गीतहरुमार्फत् लोकप्रिय गीतकार ढुंगेल केही वर्षयतादेखि मुक्तक विधामा हुनुहुन्छ । आफ्नो लेखन यात्राको सुरुवात गीतबाट गरेर उहाँ पछिल्लो समय मुक्तकमा सक्रिय हुनुभएको हो ।
भक्तपुर सांगीतिक समाजका सचिव अल्बर्ट बज्राचार्यको परिकल्पना र निर्देशनमा सुरु भएको ‘मुक्तकको कथा’ को छायाँकन र सम्पादन प्रणय भुजू, व्यवस्थापन समन ढुंगेल र उद्देश्य ढुंगेल तथा सहयोगी भूमिकामा रिचिन दुवाल रहेका छन् । भक्तपुर सांगीतिक समाजका अध्यक्ष प्रवीण शाही, कार्यक्रम निर्देशक अल्बर्ट बज्राचार्य र सर्जक सुवासचन्द्र ढुंगेलले भक्तपुरमा साहित्य र संगीतको विकास क्रमका बारेमा स्पष्ट पारेका थिए।कार्यक्रमबारे सर्जक ढुंगेलले भने, ‘मुक्तकको कथा सुन्दा अनौठो लागे पनि मुक्तकहरु र तीनको मर्ममा आधारित कथासमेत प्रस्तुत गरिने भएकाले यो नाम राखिएको हो ।’