Margadarsan


  • विभाजनपछि दोलखा एमालेमा देखियो अझ उत्साह, सबै पालिका र वडा सम्पर्क मञ्च गठन

    माधव नेपालले एमालेलाई ९ प्रतिशत मात्र क्षति पुर्याए : महासचिव पोखरेल

    मार्गदर्शन २७ भाद्र २०७८, आईतवार

    काठमाडौं । पार्टी विभाजनपछि (नेकपा) एमालेलाई ठूलो क्षति पुग्ने आँकलन भइरहेका बेला दोलखा एमालेले भने विभाजनको असर पार्टीमा रत्तिभर नपरेको सन्देश दिएको छ ।
    नेकपा (एमाले)का तत्कालीन वरिष्ठ नेता माधव कुमार नेपालले कुनै ठोस एजेण्डाविनै पार्टीमा विभाजन गरेपछि पनि दोलखा एमालेमा त्यसले कुनै क्षति नपुर्याएको सन्देश शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमले दिएको हो ।
    नेकपा (एमाले) दोलखा–काठमाडौं सम्पर्क मञ्चले तीनकुनेस्थित रोयल बैंकेटमा आयोजना गरेको ‘वृहत् प्रशिक्षण तथा सपथ ग्रहण कार्यक्रम’मा नेता, कार्यकर्ता र सुभेच्छुकहरूको उत्साहपूर्ण सहभागिताले पार्टी विभाजनबाट एमालेलाई क्षति भन्दा थप उत्साह र हौसला प्राप्त भएको स्पष्ट सङ्केत गरेको हो ।
    त्यसो त सोही कार्यक्रमका प्रमुख अतिथि एवम् पार्टी महासचिव ईश्वर पोखरेलले माधव नेपालले गरेको पार्टी विभाजनबाट एमालेलाई ९ प्रतिशतमात्रै क्षति पुगेको तथ्य प्रस्तुत गरेका छन् । एमालेले हाल चलाएको पार्टी सङ्गठनको अभियानबाट उक्त अवस्थालाई २ प्रतिशतमा झार्ने दाबी समेत पोखरेलको छ । त्यस्तो अवस्थामा नेकपा एमाले कमजोर नभइ थप सवल भएर जाने महासचिव पोखरेलले विश्वास व्यक्त गरेका छन् ।
    महासचिव पोखरेलकै भनाइलाई पुष्टि गर्नेगरी दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा कार्यकर्ता तथा एमालेका शुभचिन्तकहरूको खचाखच उपस्थिति देखिन्थ्यो । पार्टी एक रहँदाको अवस्थामा पनि कयौंपटक सामान्य रूपमा कार्यक्रम आयोजना गरिएको उक्त हलमा शनिबार आयोजित कार्यक्रममा भने उपस्थितहरूले उभिएर बस्ने स्थानसम्म नपाएको सम्पर्क मञ्चका अध्यक्ष गणेश शिवाकोटीले बताए ।


    ‘हामीले रोयल बैंकेटको यो हलमा सम्पर्क मञ्चका थुप्रै कार्यक्रम आयोजना गरिसकेका छौं । पार्टी सग्लो अवस्थामा रहँदा हलभरी अटुञ्जेल मात्रै उपस्थिति रहँदै आएको थियो,’ अध्यक्ष शिवाकोटीले भने, ‘सोही अनुरूप योजना बनाएर प्रक्षिण कार्यक्रम तय गरियो । त्यससँगै पार्टीमा आएको आंशिक विभाजनलाई पनि हामीले दृष्टिगत गरेका थियौं, तर आज उपस्थिति हेर्दा हामी आयोजक नै छक्क परेका छौं ।’
    ‘केही दिनयता घमाइलो बनेको मौसमसँगै काठमाडौंमा बढेको गर्मी, कोरोना भाइरसको विद्यमान महामारीलगायत अवस्थालाई हेर्ने हो भने आज हामी आयोजकले उपस्थित नेता कार्यकर्ता तथा एमालेका सुभचिन्तकहरूप्रति साँच्चै माफी माग्नुपर्ने अवस्था बन्यो,’ उनले अगाडि भने, ‘सम्पर्क मञ्चको नेतृत्वको हिसाबबाट म माफी चाहान्छु, विद्यमान महामारीका बेला केही हदसम्म भौतिक दूरी कायम गरी कार्यक्रम सञ्चालन गर्ने हाम्रो तयारी थियो, तर नेकपा एमालेप्रति जुन विश्वास र माया प्रकट गरेर उहाँहरू आउनुभएको छ, उहाँहरूको सहज व्यवस्थापन हुन नसकेकोप्रति हामी क्षमा चाहान्छौं ।’ काठमाडौंका ठूला भनिएका पार्टी प्यालेसहरूका सबै हलहरू यसअघि नै ‘फुच्चे’ सावित गर्दै आएको अध्यक्ष शिवाकोटी बताउँछन् ।

    ९ वटा पालिका र ७४ वटै वडा सम्पर्क मञ्च गठन
    यसैबीच दोलखा–काठमाडौं सम्पर्क मञ्चले जिल्लाका दुई वटा नगरपालिका, ७ वटा गाउँपालिका र पालिका मातहतका ७४ वटै वडा सम्पर्क मञ्चहरू भव्य रूपमा गठन गरेको मञ्चका सह–सचिव शेखर बस्नेतले जानकारी दिए । उनका अनुसार नगर तथा गाउँपालिका र वडाहरूले समेत छुट्टा–छुट्टै भेला तथा अधिवेशन आयोजना गरी मञ्चहरू पुनर्गठन गरिएका हुन् ।
    पुनर्गठित सबै कमिटीका पदाधिकारीसहितको कार्यसमितिलाई सम्पर्क मञ्चले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमका अवसरमा संयुक्त रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको हो । मञ्चले आयोजना गरेको उक्त प्रशिक्षण कार्यक्रममा १ हजार ४०० जना भन्दा बढीको उपस्थिति रहेको सह–सचिव बस्नेतको भनाइ छ ।
    कसको नेतृत्वमा कुन पालिका सम्पर्क मञ्च ?

    छुट्टा–छुट्टै भएको अधिवेशनले बिगु गाउँपालिका सम्पर्क मञ्चको अध्यक्षमा ओमकृष्ण आचार्य, कालिञ्चोक गाउँपालिका सम्पर्क मञ्चको अध्यक्षमा अर्जुन बुढाथोकी, भीमेश्वर नगर सम्पर्क मञ्चको अध्यक्षमा राजु श्रेष्ठ र शैलुङ गाउँपालिका सम्पर्क मञ्चको अध्यक्षमा मोतीलाल मोक्तान निर्वाचित भएको सम्पर्क मञ्चका सदस्य उमेश खड्काले जानकारी दिए ।
    त्यसैगरी मेलुङ गाउँपालिका सम्पर्क मञ्चको अध्यक्षमा ऋषि बुढाथोकी, तामाकोशी गाउँपालिका सम्पर्क मञ्चको अध्यक्षमा जितबहादुर फुयाँल, बैत्यश्वर गाउँपालिका सम्पर्क मञ्चको अध्यक्षमा प्रेमबहादुर तामाङ, जिरी नगर सम्पर्क मञ्चको अध्यक्षमा अमृत कार्की र गौरीशंकर गाउँपालिका सम्पर्क मञ्चको अध्यक्षमा नवराज खड्का निर्वाचित भएका छन् ।

    फेसबुक प्रतिक्रिया