काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाको निधन भएको छ । उहाँको गए राति ८५ वर्षको उमेरमा आफ्नै निवास काठमाडौँको बत्तीसपुतलीमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँ मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित हुनुहुन्थ्यो । मिर्गौला प्रत्यारोपणपछि राणा नियमितरूपमा डायलायसिस गर्दै आउनुभएको थियो ।
राणाले राखेपको दुईपटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ पहिलोपटक विसं २०५० देखि २०५१ सम्म तथा दोस्रोपटक विसं २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव रहनुभएको थियो । राणा विसं २०५९ मा नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षसमेत बन्नुुभएको थियो । एनओसीले पछिल्लो समय राणालाई सम्मानस्वरुप मानार्थ अध्यक्ष बनाएको थियो ।




















