काठमाडौं । नेकपाले प्रधानमन्त्री बालेन्द्र शाहलाई सभामुख डीपी अर्यालले गरेको रुलिङ पालना नभएको भन्दै प्रश्न उठाएको छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा संसदीय दलका उपनेता प्रमेश हमालले सभामुखले दिएको रुलिङ कार्यान्वयन गराउन नसकेको भन्दै सभामुखको भूमिकामाथि प्रश्न उठाए।
उनले सभामुखलाई सम्बोधन गर्दै भने, ‘यहाँले प्रधानमन्त्रीलाई रुलिङ गराउनुभयो । खै त्यो रुलिङको पालना भएको ? तपाईंले पालना गराउनु पर्दैन ?’
प्रधानमन्त्रीले प्रतिनिधिसभाको रोष्ट्रमबाट सीमासम्बन्धी गलत अभिव्यक्ति दिएको भन्दै हमालले उक्त अभिव्यक्ति सच्याउनुपर्ने र संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरे।
‘उहाँले नेपालले पनि भारतको धेरै ठाउँमा भूभाग मिचेको छ भन्नुभएको छ। यो करेक्सन हुनुपर्दैन ? संसद्को रेकर्डबाट हट्नुपर्दैन ? यसलाई रेकर्डमै राखेर जाने हो ?’ उनले प्रश्न गरे।
हमालले सरकारले संसद्को मूल्य, मान्यता र मर्यादा कायम गर्न नसकेको आरोपसमेत लगाए। उनले सरकार निरंकुश ढङ्गले सञ्चालन भइरहेको दाबी गर्दै संसद्प्रति सरकारको जवाफदेहिता सुनिश्चित गर्नुपर्ने बताए।




















