काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रमुख सचेतक क्रान्तिशिखा धितालले एउटा घटना आएपछि अर्को घटनाका कारण अघिल्लो पीडा ओझेलमा पार्ने प्रवृत्तिप्रति आपत्ति जनाएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशमा कुनै विपत्ति वा घटना हुँदा केही दिन चासो दिने तर नयाँ घटना आएपछि अघिल्लो घटनाका पीडितलाई बिर्सने प्रवृत्ति रहेको बताइन्।
उनले जेनजी आन्दोलन, मधेसको साम्प्रदायिक दङ्गा, गणेशको आत्मदाह, गरिमाको बलात्कारपछि हत्या तथा रसुवाको बाढीपछि सुकुम्बासीका समस्या क्रमशः ओझेलमा परेको उल्लेख गरिन्।
‘देशमा एउटा दुःख आउँछ, केही दिन हामी चासो दिन्छौँ, अर्को घटना आएपछि अघिल्लो पीडा बिस्तारै ओझेलमा पर्छ। खासमा हामीलाई दुःखको लत लागेको छ,’ उनले भनिन्।
धितालले नयाँ घटनासँगै न्यायका पुराना मुद्दासमेत ओझेलमा पर्ने गरेको भन्दै राज्य नागरिकको पीडाप्रति संवेदनशील हुनुपर्ने बताइन्।
‘हामी किन यति धेरै संवेदनशील हुनबाट भागिरहेका छौँ ? बजारमा नयाँ ट्रेन्ड आएसँगै न्यायका विषय पनि प्रतिस्थापित हुन्छन्,’ उनले प्रश्न गरिन्।
उनले नागरिकको दुःखमा राज्यले कुनै प्रकारको भेदभाव गर्न नहुने बताउँदै पीडितको जीवन सामान्य अवस्थामा नफर्किएसम्म राज्यले निरन्तर साथ दिनुपर्नेमा जोड दिइन्।
‘राज्यले भेद नगरोस्। अरूको दुःखमा टेको लगाउने होइन, टेको बन्न सिकोस्। केही दिनको सहानुभूतिमा सीमित नहोऔँ। पीडितको जीवन सामान्य नहुन्जेल राज्य साथमा उभिनुपर्छ, राज्य परिणामसहित उभियोस्,’ धितालले भनिन्।




















