काठमाडौं । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।
मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि उहाँलाई बयोधा अस्पताल लगिएको थियो । उहाँलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापको दीर्घरोग समेत थियो ।
जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार संविधानसभा सदस्यसमेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
१५० भन्दा बढी जनपक्षीय गीत रेकर्ड गराएका टुहुरेको ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई’ बोलको गीत चर्चित छ । २०७५ सालमा उहाँको नाममा जेबी टुहुरे फाउण्डेसनसमेत स्थापना गरिएको छ । फाण्डेसनको अध्यक्ष उहाँकी छोरी निर्भीका रहनुभएको छ ।