काठमाडौँ । पत्रकार जीवराम भण्डारी रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुहुने भएको छ । संयुक्त राज्य अमेरिकाको टेक्सासमा रहेको हेम–सरिता फाउण्डेशनले २०७७ सालको पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार भण्डारीलाई सम्मानित गर्ने घोषणा गरेको हो ।
तीन दशकअघिदेखि पत्रकारितामा अहोरात्र खटिनुभएका पत्रकार भण्डारी छापामाध्यमबाट पत्रकारिता सुरु गरेर हाल टेलिभिजनको चर्चित अन्तर्वार्ताकारका रुपमा परिचित हुनुहुन्छ । सुशासन एवं भ्रष्टाचारविरुद्ध खरो रुपमा कलम चलाउने तथा श्रव्यदृष्य माध्यममा रहेर उल्लेखनीय योगदान गर्ने पत्रकारलाई सो पुरस्कारद्वारा सम्मानित गरिँदै आएको छ ।
एक दशकअघि स्थापित यो पुरस्कारबाट पत्रकारहरु जीवेन्द्र सिंखडा, तीर्थ कोइराला, रविन्द्र मिश्र, शिव गाउँले, हरिबहादुर थापा, राजन शर्मालगायत सम्मानित भइसक्नुभएको छ । यस वर्ष तीर्थ कोइरालाको संयोजनमा वरिष्ठ पत्रकार जिवेन्द्र सिंखडा, शिव गाउँले तथा फाउण्डेशनका प्रतिनिधि रहेको पुरस्कार छनौट समिति गठन भएको थियो । अमेरिकामा रहेर व्यवसाय पेशामा संलग्न हेम पाठक र सरिता पाठकले फाउण्डेशनको स्थापना गरेको सो पुरस्कारको राशि २ हजार अमेरिकी डलर रहेको छ । टंकप्रसाद रमादेवी साधना पुरस्कार, टंकप्रसाद रमादेवी प्रोत्साहन पुरस्कार कोभिड १९ ले उत्पन्न गरेको असामान्य अवस्थाका कारण हाललाई स्थगित गरिएको र स्थिति सामान्य हुनासाथ पुनः शुरु गरिने फाउण्डेसनले जानकारी दिएको छ ।