काठमाडौं । ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर (सर्वेश्वर) मन्दिरमा गजुर राखिएको छ ।
शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले गत २०७२ सालको शक्तिशाली भुकम्पले क्षतिग्रस्त मन्दिर परिसरमा कुम्भेश्वर महादेव र मन्दिरको गजुरमा पूजाआजा गरेपछि गजुर राखिएको हो । पाँचतले उक्त मन्दिरको जिर्णोद्धार सम्पन्न भएपछि गजुर राखिएको हो ।
२०७२ सालको भुकम्पले मन्दिरको तीन तला क्षतिग्रस्त भएको थियो । यसअघि नेपाली काँग्रेसका सभापतिको हैसियतमा बि.सं २०७४ साल बैशाख ३० गते देउवाले नै मन्दिरको क्षमा पुजा गर्नुभएको थियो । क्षमापुजा गरी जिर्णोद्धार शुरु गरेको ४ वर्षपछि मन्दिरको पुनर्निर्माण पूरा भएको कुम्भेश्वर महादेवका पुजारी माधव श्याम शर्माले जानकारी दिनुभयो । जिर्णोद्धार सम्पन्न भएपछि शुक्रबार शुभ साइतमा गजुर राखिएको उहाँले बताउनुभयो ।
करिब २ करोड ८२ लाख रुपियाँ लागतमा जिर्णोद्धार सम्पन्न भएको मन्दिर जिर्णोद्धार समितिले जनाएको छ ।

























