काठमाडौँ । प्रखुम प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाउनुभएको बैठक दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने भएको हो ।
हिजो (आइतबार) बसेको बैठकले देशभरका सबै वडामा आउँदो असोज पहिलो हप्ता वडा र दोस्रो हप्तामा पालिका तहमा अधिवेशन गर्ने निर्णय गरेको थियो । नेता माधवकुमार नेपाल पक्षले पार्टी एकता नचाहिरहेकाले कार्यकर्ता अलमलमा नपुरुन् भन्नका लागि तल्ला तहहरुको अधिवेशन तत्कालै गर्ने निर्णय गरेको गरिएको जनाइएको छ ।
आइतबारको बैठकले भदौ अन्तिममा पार्टीको विधान महाधिवेशन गर्ने निर्णयसमेत गरेको छ । भदौ २७ र २८ गते काठमाडौँमा विधान महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन लेख्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको छ। सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
त्यस्तै सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरिएको छ ।