काठमाडौं । टेलिशृंखला ‘जुठे’ र ‘हल्का रमाइलो’ का हास्य कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे)ले गीत गाउनुभएको छ । उहाँले सपना पौडेलसँग तीज गीतमा स्वर दिनुभएको हो ।
अभिनयबाट दर्शकमाझ लोकप्रियता हासिल गर्नुभएका मरिचमानको स्वरमा रहेको ‘पारि वन हरियो’ बोलको तीज गीतको भिडियो मा पनि मरिचमानसँगै हल्का रमाइलोका अधिकांश कलाकारहरुले अभिनय गर्नुभएको छ । भिडियोमा मरिचमान र सपनासँगै ‘जुठे’ र ‘हल्का रमाइलो’का अर्का कलाकार तथा निर्देशक राजु पौडेल, अनिता बस्नेत, दीपेन्द्र तिमल्सिना र सविना आचार्यले अभिनय गर्नुभएको छ ।
सपनाकै लय शब्द र संगीत रहेको गीतलाई सुदीप सागरले एरेन्ज गर्नुभएको छ । विशेषगरी भिडियो मेकिङमा पनि निकै ध्यान दिइएको र चल्तीका कलाकार भएकाले गीतको भिडियो युट्युबमा अपलोड गरिएको दुई घण्टामै झण्डै एक लाखपटक हेरिएको थियो । भिडियो राजुमाष्टर युट्युब च्यानलमा अपलोड गरिएको छ । पहिलो पटक गीत रेकर्ड गरेर भिडियो सार्वजनिक गर्नुभएका मरिचमानले दर्शकले अभिनयमा रुचाएजस्तै स्वरमा रुचाउनुहुन्छ भन्ने आशा लिएको बताउनुभएको छ ।