काठमाडौं । नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गर्नुभएको छ । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उहाँले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गर्नुभएको हो ।
प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुन सक्ने जनाएको छ । गत बिहीबार राति ९ बजे उहाँ थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो । उहाँ विगत केही समययता पशुपति मन्दिर परिसरमा साधुको अवतारमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले अपार्टमेन्ट पुगेर घटनाको विषयमा अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार, जेनीको ‘सुसाइड नोट’ समेत भेटिएको छ ।
जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गर्नुभएको थियो । उहाँले अभिनय तथा निर्माण गरेको चलचित्र ‘घायल’को ‘माया गर मायालुले’ बोलको गीत केही समय अगाडि टिकटकमा समेत हिट भएको थियो ।