काठमाडौँ । अमेरिकाले नेपाली सेनालाई विपद् व्यवस्थापनमा प्रयोग हुने डुंगालगायत सामग्री सहयोग गरेको छ । नेपाली सेनाका अनुसार अमेरिकाले ‘आउट बोर्ड मोटर’ सहित चारवटा रेस्क्यु बोट (डुंगा) उपलब्ध गराएको हो ।
अमेरिकाको रक्षा सहकार्यअन्तर्गत सेनालाई दिइएका ती सामग्री छाउनीस्थित श्रीजंगी असवान खानामा एक कार्यक्रमकाबीच अमेरिकी दूतावासअन्तर्गत रक्षा सहकार्य कार्यालयका प्रमुख मेजर माइकल ह्वाइटले नेपाली सेना विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मालाई हस्तान्तरण गरेका हुन् ।
सेनालाई प्राप्त सामग्रीहरूको कुल लागत १० लाख डलर रहेको अमेरिकी राजदूतावासले जनाएको छ ।
रेस्क्यु बोटहरु बाढी/डुवान जस्ता जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।





















