एजेन्सी । साउथ इन्डियाका सुपरस्टार थलापति विजयले चलचित्रमा अभिनय गरेबापत एक सय करोड पारिश्रमिक लिनुहुन्छ । उहाँले आज आफ्नो जन्मदिन मनाउँदै हुनुहुन्छ । उहाँको जन्मदिनका अवसरमा उहाँको ६५ औं चलचित्रको घोषणा समेत गरिएको छ । विजयको नयाँ चलचित्र ‘बिष्ट’को घोषणा गरिएको छ, जसमा उहाँले एक सय करोड पारिश्रमिक लिनुभएको छ ।
सन् १९७६ जुन २२ तारिखमा चेन्नई तमिलनाडुमा जन्मिएका विजयले चलचित्रको क्षेत्रमा थुप्रै रेकर्ड राख्नुभएको छ । ५० प्रतिशत अकुपेन्सीमा हल खुलेको समयमा उहाँ अभिनित चलचित्र ‘मास्टर’ रिलिज भएको थियो, जसले बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको थियो । यो चलचित्रले विश्व बजारबाट २ सय करोड कमाई गरेको थियो ।
विजयले साउथका सुपरस्टार रजनीकान्तको भन्दा बढी पारिश्रमिक लिनुभएको छ । रजनीकान्तले चलचित्र ‘दरबार’का लागि ९० करोड पारिश्रमिक लिनुभएको थियो भने विजयले ‘थलापति ६५’ का लागि एक सय करोड पारिश्रमिक लिनुभएको छ । विजयको वास्तविक नाम विजय चन्द्रशेखर हो । तर, उहाँ थलापति नामले चर्चित हुनुहुन्छ । विजयका पिता चन्द्रशेखर कलिउडका चर्चित निर्देशक हुनुहुन्छ । विजयले आफ्ना पिताको १५ चलचित्रमा काम गर्नुभएको छ । जसमा, उहाँले ६ चलचित्रमा बाल कलाकारको भूमिका निर्वाह गर्नुभएको छ । १८ वर्षको उमेरमा उहाँले ‘नालैथ्या थीरपु’बाट चलचित्रमा डेब्यू गर्नुभएको हो ।