काठमाडौँ । ललितकलाकर्मीहरूका लागि कोरोनाविरुद्धको पहिलो र दोस्रो खोप व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आग्रह गरेको छ । प्रतिष्ठानले पत्र पठाउँदै विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोनाले नेपाली ललितकलाकर्मीलाई चपेटामा पारेको भन्दै ललितकलाकर्मीलाई खोपको व्यवस्था गर्न अपिल गरेको हो ।
‘कोरोना संक्रमणका कारण वरिष्ठ कलाकारहरू एकराम सिंह, राजकुमार शाक्य, सागर शाक्य, लक्ष्मण श्रेष्ठलगायत नेपालका वरिष्ठ ललितकलाकर्मीहरूको समेत ज्यान गइसकेको छ । यस्तो अवस्थामा कलाकारहरूको ज्यान बचेमा मात्र देशको अमूल्य निधिका रूपमा रहेको ललितकलाको प्रवर्द्धन र विकास हुन्छ ।’ पत्रमा लेखिएको छ । पत्रमा उल्लेख गरिएका र पछि पठाइने कलाकारहरू गरी करिब ३ सयजना ललितकर्मीलाई आवश्यकता अनुसार पहिलो र दोस्रो डोजको खोप व्यवस्था गरिदिन आग्रह गरेको छ ।